१० श्रावण २०८१, बिहीबार

लकडाउनको मारः उपचार गर्नै पनि समस्या



धनगढी । आँखामा हल्का पहेलोपन । उमेरले ३० वर्ष पुगेकी यी महिला चार वर्षदेखि जण्डिस रोगबाट पीडित छिन् ।

गत चैत ८ गते काठमाडौबाट धनगढी पुगेकी ती महिलालाई कहिले जण्डीसले ठुलो रुप लियो भन्ने पत्तै भएन । उनी फागुन ५ गते धनगढीस्थित माया मेट्रो अस्पतालमा चेकजाँचका लागि पुगेकी थिइन । पीडित महिलाले भनिन्– अस्पतालले विभिन्न चेकजाँच गर्यो । पछि यहाँ सम्भव छैन, तपाईं काठमाडौ वा भारतका अस्पतालमा जानुस् भन्ने सुझाव दियो ।

अस्पतालको सुझाव अनुसार उनी काठमाडौ गइन् र सुभेच्छा इन्टरनेशनल अस्पतालमा उपचारका लागि पुगिन । उपचारका क्रममा अस्पतालले कलेजो र किड्नीमा समस्या भएको जानकारी दियो ।

डोटीको दीपायल–सिलगढी नगरपालिका वडा नम्बर २, कठायत टोलकी पार्वती नेपाली अहिले धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा भाडाको घरमाा बस्दै आएकी छिन् । सरकारले चैत ११ गतेदेखि देशभरी नै लकडाउन जारी गरेको छ । लकडाउनका कारण मजदुरदेखि ठुला उद्योगी, व्यापारी प्रभावित भएका छन् । जसका कारण दैनिक खर्च जुटाउन दैनिक ज्यालादारी, विपन्न वर्ग, विद्यार्थीहरु सबैलाई समस्या छ । लकडाउनका कारण पार्वती पनि कठिनाईमा परेकी छिन् । उनले भनिन्– चिकित्सकको सुझाव अनुसारको औषधि खरिद गर्ने रकम पनि छैन ।

लकडाउनका कारण पार्वतीले नियमित सेवन गर्दै आएको औषधि सकिएको बताइन् । उनले भनिन्– औषधि किन्ने पैसा छैन । जनप्रतिनिधीहरुलाई आफनो समस्या भनेपछि प्रदेश सभा सदस्य टेकबहादुर रैकाको सिफारिसमा सेती प्रादेशिक अस्पतालमा रहेको फार्मेसीबाट औषधि ल्याए । उनले फार्मेसीबाट पनि आवश्यकता अनुसारको औषधि नपाएको गुनासो गरिन् । उनले भनिन्– सस्तो औषधिहरु त पाए, तर भीटामिन, क्याल्सियम लगायतका महँगो औषधि चिकित्सकले सिफारिस गरेका थिए, तर पाइन ।

पार्वतीका श्रीमान प्रहरीमा कार्यरत थिए । श्रीमतिको उपचारमै बढी खर्च हुन थालेपछि उनले जागिर छोडेर विदेश जाने सोच बनाए । उनले जागिरबाट राजीनामा दिएर विदेश जाने प्रक्रिया शुरु गरे । गत फागुन ५ गते श्रीमतिलाई काठमाडौंमा उपचारका लागि आफन्तबाट उनले पाँच प्रतिशत व्याजमा पाँच लाख रुपैयाँ ऋण निकाले । लिएको ऋण श्रीमतिको उपचारमा सकिएको उनले बताए । पार्वतीका श्रीमानले भने– श्रीमतिको उपचार गर्न विदेश जाने सोच बनाएर जागिरबाट राजीनामा दिए । सरकारले जारी गरेको लकडाउनका कारण विदेश जान पाइन । कमाउने बाटो पनि छैन । अब आवश्यक औषधि पनि कसरी किन्ने ?’ उनी धनगढीमा तीन वर्षदेखि भाडाको घरमा बस्दै आएका छन ।

सरकारले लकडाउन जारी गरेपछि दैनिक ज्यालादारी, विपन्न वर्ग तथा भाडामा बस्दै आएका लगायतका व्यक्तिहरुलाई खाद्यान्नको व्यवस्था गर्ने घोषणा गरेको छ । सोही अनुरुप धनगढी उपमहानगरपालिकाले पनि नगरभित्र रहेका स्थानीयहरुलाई चामल, दाल, नुन, तेल, सावुन लगायत वितरण गरिरहेको छ । सोही अनुरुप ती परिवारले पनि स्थानीय तहबाट खाद्यान्न प्राप्त गरेका थिए । पार्वतीले भनिन्– खाद्यान्न भन्दा औषधि चाहिएको छ । कहाँबाट जोहो गरुँ ?’ उनलाइ चिकित्सकले दुध, दही लगायतका क्याल्सियम र भिटामीनयुक्त भोजन गर्न सुझाव दिएका छन । उनले भनिन्– दुध, दही लगायतका भिटामिन र क्याल्सियमयुक्त सामग्री खरिद गर्न पैसा छैन ।

सरकारले आर्थिक विपन्नका लागि उपचारमा सहुलियत दिँदै आएको छ । सोही आधारमा यी महिलाले पनि अहिले धनगढी उपमहातनगरपालिकामा सहुलियतका लागि निवेदन पेश गरेकी छिन । तर, धनगढी उपमहानगरपालिकाले भने यसमा ध्यान दिएको छैन ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ की वडा सदस्य रतना विष्टले भनिन –‘तपाइको निवेदनमा हामी संवेदनशिल छौं । हामीले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयमा पनि पठाएका छौं ।’ उनले पार्वतीसंगै धेरै व्यक्तिहरुको उपचार सहुलियतका कागजपत्र प्रक्रियामा रहेको जानकारी दिइन । अहिले सरकारका तीनवटै तह कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनमा जुटेकाले अन्य स्वास्थ्यका समस्यामा सरकारको ध्यान जान नसकेको बताइन ।

उनले बुधबार पार्वतीलाई भेटी आवश्यक औषधिको व्यवस्था गर्ने प्रतिवद्धता जाहेर गरेकी थिइन ।

पार्वतीका दुई छोरा र दुइ छोरी पनि छन । आफ्नै लागि पोषणयूक्त खानाको व्यवस्था गर्न नसकेकी उनी छोरा छोरीप्रति पनि चिन्तित छन । उनले भनिन– कसैले सहयोग गरेको भए धेरै राहत हुने थियो ।’

यी महिलालाई सहयोग गर्न कोही इच्छुक हुनुहुन्छ भने ९८४८५२५३१९ मा सम्पर्क गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार