११ श्रावण २०८१, शुक्रबार

इमोबाट लाखौंको ठगी गर्ने गिरोह पक्राउ



धनगढी । २५ लाख भारतीय रुपैयाँ चिठ्ठा परेको भन्दै सामाजिक सञ्जाल इमोमा म्यासेज पठाएर १० लाख चार हजार रुपैयाँ ठगी गर्ने दुई भारतीय सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–६, की धनकला धामीलाई चिठ्ठा रकम पाउन कर वाफत्को रकम तिर्न भन्दै ठगी गर्ने गिरोहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । पटक पटक आईएमईबाट दश लाख चार हजार रुपैयाँ पठाइसकेको भएपनि मोरङ्गका बिक्रम चौधरी र नारायण चौधरीको नाममा एक लाख २० हजार रुपैयाँ आइएमई गर्न भनेपछि धामीले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् ।
भारतको बिहार प्रदेश अररीया जिल्लाको आमगाछी ग्रामपंचायत–१३ का २५ वर्षीय शतिष मण्डल र ५५ वर्षीय मो.ईसुसहित मोरङको सुन्दरहरैचा–१२ का आइएमई संचालक ३८ वर्षीया ईन्दिरा पुरी, सोही आईएमईमा काम गर्ने ४२ वर्षीय मनमोहनबहादुर अधिकारी, बिराटनगर–१० का सजिलो मनिट्रान्सफर संचालक ३७ वर्षीय विश्वनाथ राजवंशी, रंगेली–६ का २८ वर्षीय भवेशकुमार मण्डल र सुनबर्षी–८ का २२ वर्षीय को अब्दुल सलामलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनले जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा उनीहरुलाई पक्राउ गरी कैलाली जिल्ला अदालतबाट दिन ७ म्यादथप लिई अनुसन्धान गरिरहेको जनाए ।
प्रहरीले त्यस गिरोहले अन्य व्यक्तिलाई समेत ठगी गरेको हुन सक्ने भएकोले पहिचान भएमा वा ठगी गरेको भएको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार