२१ मंसिर २०८२, आईतवार

टीकापुर नगरपालिकाको छैठौं नगरसभा



टीकापुर । कैलालीको टीकापुर नगरपालिकाको छैठौं नगर सभाले चार वटा विधेयक पारित गरेको छ ।


नगर सभामा आर्थिक विकास समितिका संयोजक रमेश विकले प्रस्तुत गरेको स्थानीय बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०७६ पारित गरिएको छ । यो विधेयक पारित भएसंगै नगरपालिकाको एकल अधिकारका रुपमा रहेको स्थानीय बजार व्यवस्थापन तथा अनुगमन कार्य भई बजारमा स्वच्छता कायम हुने, व्यवसायहरू कानूनी दायरामा आउने र उपभोक्ता अधिकार सुरक्षित हुने विश्वास गरिएको छ ।
त्यस्तै, वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक बलिराम चौधरीले प्रस्तुत गरेको जलचर एवं जैविक विविधता संरक्षण सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पनि पारित भएको छ ।
त्यस्तै, सामाजिक विकास समिति संयोजक दीर्घ ठकुल्लाले प्रस्तुत गरेको नगर शिक्षा ऐन २०७६, तथा विधायन समिति संयोजक अक्कल माझीले प्रस्तुत गरेको स्वास्थ्य र सरसफाइ सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सुझावसहित पारित भएको छ ।
चौथो नगरसभाले आर्थिक विधेयक २०७६÷७७ संशोधन तथा कार्यक्रम संशोधन विधेयक पारित गर्दै केही बजेटहरू संशोधन गरेको छ । विनियोजन ऐन संशोधन गर्दै चालू प्रकृतिको ४१ लाख ६० हजार रुपैया बजेट संशोधन गरिएको छ ।
यसअघि तलव शीर्षकमा विनियोजन गरेको बजेट अनुसार कर्मचारी नआएकाले १८ लाख २५ हजार रुपैया वचत भएकाले पानी, विजुली, सञ्चार, भ्रमण खर्च र केही फिर्ता दिनुपर्नेमा खर्च हुने गरी संशोधन भएको जनाइएको छ ।
त्यस्तै पहिले एकमुष्ट राखिएका, बजेट अपुग भएका र बढी भएका दुई करोड ४८ लाख ६९ हजार रुपैया बजेट संशोधन गरिएको छ ।
नगर सभामा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी पन्थीले बजेट संशोधनले बजेटको आकारमा कुनै परिवर्तन नआएको बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार