१० श्रावण २०८१, बिहीबार

बसन्तालाई जैविक मार्गका रुपमा विकास गर्न पहल



धनगढी/ कैलालीको मध्यमा रहेको तथा उत्तरदक्षिण फैलिएको बसन्ता बन क्षेत्रलाई जैविक मार्गका रुपमा विकास गर्न पहल थालिएको छ । भारतदेखि नेपालको तराई हुँदै चुरेसम्म फैलिएको बसन्ता बन क्षेत्रलाई अन्तर्राष्ट्रिय जैविक मार्ग मानिन्छ ।
पछिल्ला दशकहरूमा बसन्ता बनजंगल क्षेत्रमा तीब्र रुपमा मानव वस्ती विस्तार तथा अन्धाधुन्ध ढंगले भौतिक संरचना निर्माण भइरहेबाट जैविक मार्ग र वन्यजन्तुको बासस्थानमा कठिनाई बढ्दै गएको बन तथा वातावरणविदहरुले औल्याउँदै आएका छन् ।
डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलका अनुसार बसन्ता बन क्षेत्र वरिपरि मानव वस्तीको द्रुत रुपमा विस्तारसंगै वन्यजन्तुको बासस्थान ह्रास तथा बासस्थानको खण्डीकरण, बन्यजन्तुको ओहोरदोहोरमा अवरोध बढिरहेको छ ।
बुधबार डिभिजन वन कार्यालय धनगढीको आयोजना तथा तराई भू–परिधिको सहयोगमा ‘वातावरणमैत्री पूर्वाधार निर्माण सम्बन्धी संरक्षण’ विषयक सरोकारवालाहरुसंगको परामर्श बैठकमा बसन्तामा बढिरहेको मानव गतिविधि र अन्धाधुन्ध रुपमा भौतिक संरचना निर्माणबाट थपि“दै गएको समस्याप्रति चिन्ता व्यक्त गरियो ।
डिभिजन वन कार्यालय प्रमुख कँडेलले बसन्ता बन क्षेत्रको संरक्षण तथा वन्यजन्तुमैत्री संरचना निर्माण गर्न आवश्यक रहेको बताए । उनले भने– बसन्ता बन अतिक्रमणको चपेटामा पर्दै आएको छ । त्यसैमा हुलाकी सडक पनि परेकाले वन्यजन्तुलाई समस्या नहुने गरी काम गर्न आवश्यक छ । उनले बढ्दो बन अतिक्रमण रोकथाममा स्थानीय सरकारहरू बढि गम्भीर हुन आग्रह गरे ।
डिभिजन बन कार्यालय प्रमुख कँडेलले पहिलो चरणमा वन डिभिजन कार्यालयले हुलाकी सडकको उत्तर पट्टीको बस्ती हटाउन काम गरिरहेको बताए । उनले भने– पहिलो चरणमा सडकको उत्तर पट्टीको अतिक्रमण हटाऔं । त्यसपछि बृक्षारोपण, बोटविरुवा संरक्षण लगायतका क्रियाकलापमा जोड दिउँ ।
उनल वातावरणमैत्री योजना नभएकाले बसन्ता बन क्षेत्रमा हुलाकी राजमार्ग निर्माण कार्य रोकिएको बताए । भने– वातावरणमैत्री भौतिक संरचना निर्माण गर्ने भनेर अहिले हुलाकी सडकको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन मन्त्रालयमा रहेको छ । मन्त्रीपरिषदबाट पारित भएपछि त्यस क्षेत्रमा वन्यजन्तु आवातजावत गर्नका लागि ‘अन्डर पास र ओभर पास’ निर्माण गर्ने काम अघि बढ्छ ।
उनले सुकुम्बासीहरुलाई जंगल बाडेर वा जंगलमा बसोबास गराएर समस्या समाधान नहुने बताए । उनले भने– अहिले सुकुम्बासीका नाममा जिल्लाभरीका वन क्षेत्र अतिक्रमण भइरहेका छन् । उनीहरुलाई रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका सेवाहरु उपलब्ध गराउने हो । जंगल दिएर समाधान हुँदैन । यसले झन् वातावरण तथा वनमा असर पुगिरहेको छ ।
कार्यक्रममा तराई भू–परिधि कार्यक्रमका अधिकृत देवराज जोशीले ‘बसन्ता बनमा बाघको गणना प्रयास गर्दा त्यस क्षेत्रमा बाघ नै नदेखिएको” बताए । उनले यसले जैविक मार्ग संरक्षणमा चुनौति बढाएको बताए ।
उनले बसन्तालाई पुरानै अवस्थामा ल्याउन सबै सरोकारवालाहरु लाग्नुपर्ने बताए । ‘विद्यालय, स्वास्थ्य, मानव बस्ती विस्तार, खेलमैदान लगायतका संरचनाका कारण वन्यजन्तु जैविक मार्गनै मासिंदै गएको छ’ उनले वन्यजन्तुहरु खेल्ने ताल नजिकै बस्ती बसेर माछापालन गर्ने प्रवृति पनि बढेको बताए ।
वसन्ता वनको कुल ६९ हजार एक दशमलव २२ हेक्टर बनक्षेत्र संरक्षित छ । भने १४ हजार चार सय ३७ दशमलव ६८ हेक्टर जमिन कृषि तथा आवादीमा पर्छ । बसन्ता ८३ हजार चार सय ३८ दशमलव ९ हेक्टरमा फैलिएको छ ।
कार्यक्रममा कैलारी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष कमलप्रसाद चौधरीले कैलारी गाउँपालिका वातावरणमैत्री भौतिक संरचना निर्माण गर्न कटिवद्ध रहेको बताए । उनले भने– गाउँपालिकाले वन संरक्षण गर्नुपर्छ भनेर सडक निर्माण गर्दा पनि किनारमा बोटविरुवा रोप्ने भनेर गाउँ सभाबाटै पारित गरेको छ । वातावरणमा गाउँपालिका एकदमै संवेदनशिल पनि छ ।
उनले वसन्ता क्षेत्र अतिक्रमणको चपेटामा परेको पनि स्वीकार गरे । उनले भने– अतिक्रमण हटाएर मात्र हुँदैन । त्यहाँ बोटविरुवा रोप्ने, वन संरक्षणका कार्यक्रम अघि बढाउन पनि आवश्यक छ ।
कार्यक्रममा वन प्रमुख कँडेलले वातावरणमैत्री भौतिक संरचना निर्माणको अवस्था, संरचना वातावरणमैत्री नहुँदा भोगिएका समस्या, नेपालमा वातावरणमैत्री संरचना लागु गर्न देखिएका चुनौति लगायतका विषयमा पनि जानकारी दिए ।
कार्यक्रममा कैलारी गाउँपालिका, गौरिगंगा नगरपालिका क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार