१२ श्रावण २०८१, शनिबार

१५ वर्षपछि कैदी पक्राउ



धनगढी/ तत्कालिन युद्धरत माओवादीले कैलाली जिल्ला कारागारमा आक्रमण गरेपछि त्यहाँबाट फरार भएका एक कैदी १५ वर्षपछि पक्राउ परेका छन् ।
माओवादी आक्रमणका क्रममा कारागारबाट भागेका कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ दिल बहादुर साउँदलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको जनाएको छ ।
तत्कालीन माओवादीले २०६१ साल माघ २७ गते कैलाली कारागारमा आक्रमण गरेको थियो । आक्रमणको समयमा दिलबहादुर कारागारभित्र कैद भुक्तान गरिरहेका थिए । माओवादीले आक्रमण गरेपछि उनी त्यहाबाट फरार भएका थिए ।
उनले २०५५ साल फागुन ५ गते स्थानीय रतन साउँदको हत्या गरेका थिए । सो मुद्दामा अदालतले २०५६ साल पुष २६ गते उनलाई २१ वर्ष छ महिनाको कारावास सजायको फैसला गरेको थियो । अदालतको सोही फैसलापछि प्रहरीले उनलाई २०६० माघ १९ गते पक्राउ गरेको थियो । त्यसको एक वर्षपछि उनी कारागारबाट भागेर भारत पसेका थिए ।
प्रहरीले उनी घर आएको मौका छोपी आईतवार पक्राउ गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय भजनीको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार