१२ श्रावण २०८१, शनिबार

पोखरा प्रिमियर लीग : धनगढी ब्ल्युजको रोमाञ्चक जीत



पोखरा । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा धनगढी ब्ल्युजले रोमाञ्चक जीत प्राप्त गरेको छ । एक सय १८ रनको सजिलो लक्ष्यको पिछा गरिरहेको बिराटनगर टाइटन्सलाई धनगढी ब्ल्युजले एक सय १२ रनमा सिमित गरेको थियो ।
जीतका लागि बिराटनगर टाइटन्सलाई अन्तिम ओभरमा १५ रन आवश्यक रहेको थियो । धनगढी ब्ल्युजका कप्तान दीपेन्द्रसिंह ऐरीले घातक बलिङ गर्दै पुनित मेहरा र किशोर महतोलाई आउट गरे ।
बिराटनगरको ब्याटिङ इनिङमा राजु रिजालले २५ तथा सुनील धमलाले १६, नोमन खानले ११ तथा कप्तान प्रदीप ऐरीले १० रन बनाए ।
बलिङमा धनगढी ब्ल्युजका दीपेन्द्रले चार ओभरमा एक मेडन ओभरसहित १९ रन खर्चेर तीन विकेट लिए । त्यस्तै, सागर ढकालले दुई तथा कमलसिंह ऐरी, अमित यादव र अनिल खरेलले एकएक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएकोे धनगढीले ब्ल्युजले आठ विकेट क्षतिमा एक सय १७ रनको सामान्य रनस्कोर बनाएको थियो ।
धनगढी ब्ल्युजका प्रारम्भिक क्रमका ब्याट्सम्यान धर्मराएपछि झिनो रनस्कोरमा समेटिने सम्भावनालाई नवौं नम्बरमा ब्याटिङ गर्न आएका कमलसिंह ऐरीले सम्हाले । उनले २१ बलको सामना गर्दै दुई छक्का र दुई चौका सहित २६ रन बनाए । त्यस्तै, मध्यक्रमका व्याट्सम्यान श्रीमान्था विजेयरत्नेले २५ बलमा एक छक्का र चार चौका सहित २५ रन बनाए ।
धनगढी ब्ल्युजका रोड्रिगो थोमसले १६ तथा सौरभ खनालले १२ र मन्जित श्रेष्ठले ११ रन बनाए । बलिङतर्फ बिराटनगरका साहेव आलमले तीन तथा नोमन खानले दुई किवेट लिए । भने पुनित मेहरा, किशोर महतो र मोहम्मद जइम आलमले एकएक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार