११ श्रावण २०८१, शुक्रबार

साइपालमा २५ वर्षपछि मंसिरमा हिमपात



बझाङ । बझाङ जिल्लाको सबैभन्दा विकट मानिएको साईपाल गाउँपालिकामा २५ वर्षपछि मंसीर महिनामा हिमपात भएको छ । गाउँपालिकाका पाँच वटै वडामा तीन फिटसम्म बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् ।
बाक्लो हिमपातका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । पशुचौपाया गोठमै थुनिएका छन् ।
स्थानीय बसन्त बोहराले शुक्रबारदेखि परेको हिमपातका कारण प्रायः विद्यालय बन्द भएको बताए ।
धलौन माविका प्रध्यानाध्यापक हिक्मतबहादुर सिंहले तीन दिनदेखि परिरहेको हिमपातका कारण आवतजावत गर्न समेत कठिनाई भएपछि विद्यालय बन्द गर्नुपरेको बताए ।
साइपाल गाउपालिकामा दुई वटा माध्यमिक विद्यालय, एउटा निम्नमाध्यामिक विद्यालय। दुई वटा प्राथमिक विद्यालय समेत आठ शैक्षिक संस्था रहेका छन् ।
धलौनका ९६ वर्षीया शिद्ध बोहराले २०५१ सालमा साइपालमा मंसीर महिनामा हिमपात भएको बताए । साइपालमा प्रायः पुसको अन्तिम साता तथा माघ महिनामा हिमपात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार