१२ श्रावण २०८१, शनिबार

महिला हिंसाको अवस्थाबारे छलफल



धनगढी । लैंगिक हिंसा विरुद्धको १६ लिने अभियान अन्तरगत बुधबार महिला हिंसाको वर्तमान अवस्था र चूनौतिबारे धनगढीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र दलित महिला संघको संयुक्त आयोजनामा जिल्लास्तरीय अन्तरक्रिया गरिएको हो । सो क्रममा सरोकारवालाहरुले मानसिकता परिवर्तन नभएसम्म महिलामाथि हुने हिंसा नरोकिने बताए । उनीहरुले कानुन कार्यान्वयनसंगै मानसिकतामै परिवर्तन ल्याउनुपर्ने बताए ।
प्रदेश सांसद शान्ति नेपालीले सबै मानिसले मानवीय व्यवहार गरेमा धेरै समस्याहरु आफै समाधान हुने बताइन् । उनले आर्थिक हैसियत हेरेर विभेद हुने गरेको बताउँदै सुकिलालाई कम र कमजोरलाई बढि विभेद हुने गरेको बताइन् । उनले प्रदेश सरकारलाई विभेद विरुद्धको ऐन बनाउन आफूहरुले दवाव दिइरहेको बताइन् ।
प्रदेश सांसद् दुर्गा विकले समाज परिवर्तन गर्न चिन्तित रहेको बताउँदै प्रदेश सरकारले गरेका कामको समिक्षा गर्न आवश्यक रहेको बताइन् । उनले सरकारले विभेद विरुद्धका कार्यक्रमका लागि बजेट विनियोजन गर्नुपर्ने बताउँदै सरकार र गैरसरकारी संस्थाहरुले सहकार्य गर्न आवश्यक रहेको बताइन् ।
कैलाली बार एसोसियनका अध्यक्ष शिव केसीले भएका कानुनहरुको अक्षरसः पालना गर्न आवश्यक रहेको बताए । अधिवक्ता जोहारीलाल चौधरीले समाजमा हुने घटनाको निश्पक्ष अनुसन्धान र स्वच्छ सुनुवाई हुनुपर्ने बताए ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष चक्रबहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नागरिक समाजका विभिन्न व्यक्तिहरुको सहभागिता थियो । दलित महिला संघका निर्देशक विनोद घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमा पत्रकार मोहन जोशीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार