१२ श्रावण २०८१, शनिबार

लैंगिक हिंसाविरुद्ध योजनाबारे अन्तक्र्रिया



धनगढी । लैंंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा सोमबार धनगढीमा महिलामाथि हुने हिंसा न्युनिकरणमा नीतिनिर्माताको भूमिका तथा आगामी योजनाबारे अन्तक्र्रिया भएको छ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सरकारले प्रदेशका पहाडी जिल्लाहरूमा अझै व्याप्त छाउपडि प्रथा अन्त्यका लागि विशेष नीति ल्याएको बताए ।
मन्त्री सुवेदीले प्रदेश सरकार महिलामाथि हुने कुनै पनि प्रकारका हिंसा तथा विभेद अन्त्यका लागि सधैं गम्भीर रहेको बताए ।
उनले अझैं पनि गलत धार्मिक, सांस्कृतिक संस्कार र विश्वासका कारण छाउपडी जस्ता कुप्रथा अन्त्य हुन नसकेको चर्चा गरे ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्णा जोशीले महिलामाथि हुने हिंसा अन्त्यका लागि ऐनकानूनको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताइन् ।
प्रदेश सभा सदस्य शान्ति नेपाली तथा कुन्ति जोशीले परिवर्तन आफैबाट सुरु गर्नूपर्ने बताइन् ।
प्रदेश सभा सदस्य हर्क बहादुर कुँवरले गरिबीका कारण पहाडी जिल्लाहरूमा अझैं छाउपडी प्रथा कायम रहेकोले सरकारले छाउपडीका लागि घर बनाउनु् उचित हुने बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत कमला शाहीले कार्यपत्र प्रस्तुत गर्दै मन्त्रालयको कुल तीन अर्ब ३४ करोड ७५ लाख ७१ हजार रुपैया बजेटमध्ये महिला, बालवालिका र समाजकल्याणतर्फ १४ करोड रुपैया रहेको बताइन् ।
सुदूरपश्चिम सामाजिक विकास मन्त्रालय र फाया नेपाल कैलालीको आयोजनामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य, अधिकारकर्मी लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार