१२ श्रावण २०८१, शनिबार

राजमोले कालापानी अभियान सञ्चालन गर्दै



धनगढी । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग पनि समेटिएको विरोधमा राष्ट्रिय जनमोर्चाले सुदूरपश्चिम प्रदेशमा कालापानी अभियान सञ्चालन गर्ने भएको छ ।
‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, भारतीय साम्राज्यवादी सेना फिर्ता गर, भारतीय जाली नक्सा खारेज गर’ भन्ने उद्घोषका साथ जनमोर्चाले आगामी ११ गतेदेखि १७ गतेसम्म सप्ताहव्यापी अभियान सञ्चालन गर्ने जनाइएको छ ।
शनिवार राष्ट्रिय जनमोर्चाद्वारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले राष्ट्रियताको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न जनस्तरबाटै राज्यलाई दबाब सिर्जनाको लागि अभियान सञ्चालन गरिने बताए । उनले कालापानी क्षेत्र कब्जा गरी बसेको भारतीय सेनालाई फिर्ता पठाएर अतिक्रमित भूभाग फिर्ता गराउने उदेश्यका साथ अभियान अघि बढाइने बताए ।
कालापानी अभियानका क्रममा प्रदेशका सबै जिल्लामा पर्चा वितरण, भेटघाट, कोणसभा, जुलुस तथा आमसभा आयोजना हुनेछन् । अभियानको शुरुबात कैलालीको धनगढीबाट हुने उनले जानकारी दिए ।
अभियानका क्रममा कैलालीको धनगढी, अत्तरिया, डोटीको दिपायल र बुडर, डडेल्धुरा, बैतडीको पाटन र गोठालापानी, दार्चुलाको खलंगा र गोकुलेश्वर, तथा कञ्चनपुरको महेन्द्रनगरमा विरोधसभा आयोजना हुने उनले बताए ।
अभियान अन्तर्गत मंसिर १७ गते महेन्द्रनगरमा हुने समापन तथा विरोध सभामा पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनमोर्चाले जनाएको छ ।
भारतले नेपालको दार्चुला जिल्लाको उत्तर पश्चिममा अवस्थित कालापानी, लिपुलेक र लिम्पीयाधुराको उच्च हिमाली भूभागलाई समावेश गरी आफनो नया“ नक्सा जारी गरेपछि देशभरी व्यापक विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार