वडा कार्यालय सार्ने निर्णयविरुद्ध आन्दोलन
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को वडा कार्यालय सार्ने विषयमा स्थानीयले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
आइतबार वडा नम्बर ७ बेलीमा आयोजित एक भेलाले वडावासीलाई पायक पर्ने स्थानमा वडा कार्यालय स्थापना गर्न माग दोहोराएको छ ।
हाल मनेहरामा भाडाको घरमा सञ्चालन भइरहेको वडा कार्यालय जाखोर तालमा निर्माण गर्ने वडाध्यक्षको निर्णयपछि वडाबासीले चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको बताएका छन् ।
वडाध्यक्ष सीताराम रानाले सरोकारबालाहरूसंग छलफल नगरी एकलौटी ढंगले जाखोरतालमा वडा कार्यालय राख्ने निर्णय गरेकोमा स्थानीयले विरोध गर्दै आएको स्थानीय मोती रानाले बताए । उनले वडा कार्यालय भवन निर्माणका लागि कालिका मन्दिरमा जग्गा उपलब्ध गराउदा पनि वडाध्यक्षले जाखोर तालमा सार्ने काम गरेको बताउदै त्यो आफूहरूलाई मान्ने नहुने बताए ।
वडा कार्यालय सारेको विरोधमा गठित संघर्ष समितिका अध्यक्ष समेत रहेका मोति रानाले वडा कार्यालय सार्ने नाममा जाखोरतालका रुख काट्ने योजना रहेको आरोप लगाए ।
वडा कार्यालयका बारेमा छलफल गरेर मात्रै निर्णय गर्ने नगर प्रमुखले आश्वासन दिए पनि एकलौटी ढंगले जाखोर तालमा सार्ने निर्णय भएपछि आफुहरू आन्दोलनमा उत्रन बाध्य भएको संघर्ष समितिका सदस्य रामअवतार रानाले बताए ।
स्थानीय राधा बोहराले वडा कार्यालय सारेको विरोधमा आफूहरू चरणवद्ध रुपमा वडा सदस्यदेखि नगरप्रमुखको कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको बताइन् ।
वडा अध्यक्ष सीतारामलाई कालिका मन्दिर व्यवस्थापन समितिले निःशुल्क रुपमा जग्गा दिने निर्णय गर्दा पनि जाखोर तालमा कार्यालय सार्ने निर्णय गरेकोप्रति स्थानीय आक्रोसित भएका छन् ।
कालिका मन्दिर व्यवस्थापन समितिले वडा कार्यालयसंगै पाँच सटरको जिर्माण गर्ने जनाएपनि वडाध्यक्षले त्यसलाई वहाना बनाएर वडा कार्यालय सार्ने काम गरेको स्थानीयको आरोप छ ।