महिला जनप्रतिनिधिको गुनासो– जनप्रतिनिधिबाटै जातीय छुवाछूत
धनगढी । कैलालीको गोदावरी नगरपालिकामा निर्वाचित दलित महिला सदस्यहरूले जनप्रतिनिधिहरुबाटै जातीय विभेद हुने गरेको आरोप लगाएका छन् ।
उनीहरूले पुरुषको तुलनामा महिलाबाट बढी जातीय छुवाछुत भइरहेको बताए । गोदावरी नगरपालिका वडा नम्बर २ बाट निर्वाचित दलित महिला वडा सदस्य संगिता विकले जनप्रतिनिधी महिला सदस्यहरूले पनि छुवाछुत गरिरहेको आरोप लगाइन् । उनले भनिन्– हामी बाहिर जातीय छुवाछुत हटाउनु पर्छ भन्दै कार्यक्रम गर्छौ, तर नगरपालिकाभित्रै जनप्रतिनिधी महिलाले हामीमाथि विभेद गर्दै आएका छन् ।
दलित महिला संघले मंगलबार आयोजना गरेको सामुहिक कार्यगत एकता र न्यायिक समितिसंग संवाद कार्यक्रममा दलित महिला जनप्रतिनिधिहरूले कुनै छलफल, गोष्ठी तथा नगरका कार्यक्रममा अरु जातका महिलाले संगै बसेर खाना खान समेत नमान्ने बताए ।
गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायतले केही समय अघिसम्म त्यसो हुनेगरेको भए पनि हाल जातीय छुवाछुतको समस्या नरहेको दाबी गरिन् ।