१२ श्रावण २०८१, शनिबार

दलित महिला तथा सिमान्त्कृत समुदायका सवालबारे संवाद



अनुमोदन समाचार÷धनगढी
दलित महिला र सिमान्तकृत समुदायका सवालबारे सरोकारवाला र प्रदेश सभा सदस्यहरूबीच शनिबार धनगढीमा संवाद भएको छ ।
संसद सहयोग परियोजनाको सहयोग र राष्ट्रिय दलित नेटवर्क नेपालको आयोजनामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य तथा दलित अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य बलबहादुर सोडारीले दलित, आदिवासी जनजाती लगायत उत्पीडित वर्गको अधिकार प्राप्त गर्नका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले सरकारको बजेट लैंगिक तथा सीमान्तकृत वर्गमैत्री बन्ने गरेको भए पनि कार्यान्वयनमा कमजोरी रहेको बताइन् ।
प्रदेश सभा सदस्य टेकबहादुर रैकाले दलित तथा अल्पसंख्यकका अधिकारका लागि प्रदेश सभामा आवाज उठाउ“दा बहुमत र अल्पमतको दम्भ देखिने गरेको बताए । उनले भने– प्रदेश सभाले निर्माण गर्ने हरेक नीति, कार्यक्रम, कार्यविधी लैंगिक तथा सिमान्तकृत वर्गमैत्री बन्नुपर्छ भन्दा बहुमतको दम्भमा आफुखुशी पारित गरिन्छ ।
प्रदेश सभा सदस्य दुर्गा विकले प्रदेशमा लैंगिक तथा सिमान्तकृत मैत्री नीति कार्यक्रम तथा बजेट आवश्यक रहेको भएपनि सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो गरिन् । ‘हामीले गत वर्ष सबै वर्ग, समुदायसंग छलफल तथा राय सुझाव संकलन गरेर सरकारलाई योजना बुझाएका थियौं’ उनले भनिन्–सरकारले त्यस अनुरुप कार्यक्रम तथा बजेट निर्माण गर्न सकेन ।
कार्यक्रममा सहभागि सरोकारवालाहरूले प्रदेश सरकारले आदिवासी, जनजाती, महिला, दलित लगायत उत्पीडित वर्गको क्षेत्रमा कार्यक्रम निर्माण गर्न नसकेको गुनासो गरेका थिए ।
कार्यक्रमको सहजीकरण नेपाल राष्ट्रिय दलित कल्याण संघका जिल्ला अध्यक्ष चक्र विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार