१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशमा पर्यटनको अवस्थाः विदेशी पर्यटक आगमनको अवस्था कमजोर



  • शेरबहादुर ऐर/धनगढी ।

सुदूरपश्चिम प्रदेशमा विदेशी पर्यटक आगमन संख्यामा अझैं पनि बढोत्तरी हुन सकेको छैन । सरकारी निकाय र निजि क्षेत्रबाट पर्यटक भित्र्याउनका लागि विभिन्न प्रचारप्रसार अभियान लगायत गतिविधि भए पनि विदेशी मुलुकहरूबाट सुदूरपश्चिम घुम्न आउने पर्यटकको संख्या भने गतविगत जस्तै रहेको छ ।
सुदूरपश्चिममा खप्तड, बडीमालिका, शुक्लाफाँटा, रामारोशन लगायतका पर्यटकीय स्थल छन् । पर्यटक भित्र्याउनका लागि यो क्षेत्रको पर्यटकीय गन्तव्य प्राथमिकतामा पर्न नसक्नुले पर्यटक संख्यामा बृद्धि हुन नसकेको पर्यटन व्यवसायीले गुनासो गर्दै आएका छन् । यद्यपि, पछिल्लो समय नेपाल सरकारले यो प्रदेशको केहि पर्यटकीय स्थललाई पर्यटन गन्तव्यको रुपमा पहिचान गरेको छ ।
भारतको स्थलमार्ग हुँदै कैलाली भन्सार नाका भएर नेपाल भित्रिने विदेशी पर्यटकको संख्या न्युन छ । यो नाका भएर सन् २०१८ मा ८३ जना विदेशी पर्यटक भित्रिएका थिए भने ६८ जनाले प्रस्थान गरेका थिए ।
त्यस्तै, सन् २०१९ अगष्टसम्म त्रिनगर नाका भएर ५५ विदेशी पर्यटक आगमन गरेका छन भने ४८ जनाले प्रस्थान गरेको जनाईएको छ ।
भारतको दिल्लीबाट त्रिनगर नाका छोटो दुरी मानिन्छ । दिल्लीबाट आउने विदेशी पर्यटकहरू यो नाकाबाट आउने गरेका छन् । अध्यागमन कार्यालयले दिएको तथ्यांक अनुसार यो नाका भएर सन् २०१९ आठ महिना अगष्टसम्ममा आएको कुल पर्यटनमध्ये सबैभन्दा बढी अष्टे«लियाका पर्यटक रहेका छन् ।
कार्यालयका अनुसार यस वर्ष अष्ट्रेलियाका १३ पर्यटक यस नाकाबाट आएका थिए । सन २०१८ मा कुल पर्यटकमध्ये संयुक्त राज्य अमेरिकाका २७ जना पर्यटक यो नाका भएर आएका थिए ।
कैलाली भन्सार नाका भएर खास गरेर अमेरिका, श्रीलंका, जर्मनी, फ्रान्स, कोरिया, मलेसिया, इटली, रसिया, स्पेन लगायतका देशका पर्यटकहरूको आउजाउ हुने गरेको अध्यागमन कार्यालयको तथ्यांकमा उल्लेख छ ।
कैलालीबाट भारतको राजधानी दिल्ली नजिक भए पनि दिल्ली र आगराबाट नेपाल आउन चाहेका पर्यटकहरू यो नाका भएर थोरै आउने गरेका अध्यागमन कार्यालयले जानकारी दिएको छ ।
दिल्ली पुगेका प्रायः पर्यटकहरू हवाई मार्ग भएर सिधैं काठमाडौं जाने गरेका छन । पर्यटक आगमन बढ्न नसक्दा धनगढीमा रहेको अध्यागमन कार्यालय प्रायः समय सुनसान देखिन्छ ।
कैलाली भन्सार नाका भएर नेपालमा पर्यटक भित्र्याउनका लागि प्रचार प्रसार र भारतबाट प्रोत्साहन नभएकाले संख्यामा बढोत्तरी हुन नसकेको अध्यागमन कार्यालय प्रमुख यादव भण्डारीले बताए ।
उनले गौरीफन्टा नाकासम्म आउनका लागि बाटो सहज नभएकाले पनि पर्यटक संख्या बढ्न नसकेको बताए । ‘दुधुवा नेशनलपार्कमा बाटोको समस्या छ’, भण्डारीले भने–‘भारतका पर्यटन व्यवसायीले पनि नेपाल आउन चाहेका पर्यटकको रुट परिवर्तन गराउने गरेका छन् । धेरैलाई त यो नाका छ भन्ने समेत थाहा छैन ।’
सुदूरपश्चिम प्रदेशमा पर्यटनको थुप्रै सम्भावना रहे पनि मुख्यतयाः प्रचार प्रसार हुन नसक्नु नै पर्यटन फष्टाउन नसकेको अध्यागमन कार्यालयले जनाएको छ । तर, भारतीय पर्यटक भने महिनामा करिब चार÷पाँच सयको संख्यामा आउने गरेको जनाइएको छ । ‘छोटो समयका लागि घुम्न धेरै भारतीय पर्यटक आउने गरेका छन’, भण्डारीले भने–‘उनीहरूको हामीले तथ्यांक राख्ने गरेका छैनौं ।’
पर्यटनलाई लक्षित गरेर कैलालीको धनगढीमामात्रै विभिन्न पूर्वाधार विकास भइसकेको छ । पर्यटकलाई लक्षित गरी ठूल–ठूला होटल र फन पार्क पनि सञ्चालनमा आएका छन् । ठूलो लगानीमा सञ्चालनमा आएका होटलहरूले पर्यटकको स्वागत गर्न नपाउँदा सरकारी तथा गैरसरकारी संस्थाको कार्यक्रमको भरमा खर्च धान्नु पर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार