१० श्रावण २०८१, बिहीबार

ग्रामिण सडकमा यात्रु दोहोरो मारमा



सिलगढी । देश संघिय संरचनामा गएसंगै बनेका स्थानीयतहहरुले बिगतका बर्षहरुमा सडक निर्माणमा बढी केन्द्रित भएपछि जिल्लाका बिकट मानिने क्षेत्रहरुमा समेत सडक सञ्जालले छोएको छ ।

जिल्लाका दुर्गम मानिने स्थानहरुमा समेत डोजर, स्काभेटरले सडक खनिरहेका देन्छिन् । सडक निर्माण भए संगै ग्रामिण क्षेत्रका बासिन्दा जोखिम पुर्ण यात्रा र चर्को भाडादरको दोहोर मारमा परेका छन् । बर्षा शुरु भए संगै ग्रामिण सडकहरु झन जोखिम पुर्ण बन्दै भएका छन् ।
डोटीको दिपायल देखि सायल गाउँपालिका अन्तरगत पर्ने डौडमा पुग्न ४० किलोमिटर सडकको पाँच सय रुपैया भाडा लिने गरिएको छ । चर्को भाडा दर एकातिर छ भने अर्कोतिर क्षमता भन्दा बढी यात्रु बोक्ने क्रम पनि जारी छ । यातायात ब्यबसायीहरुको मनोमानीका बिरुद्ध कसैले बोल्न नसकेको यात्रुहरुको गुनासो छ । डोटीको आदर्श गाउँपालिका स्थित मौवाका केदार ओझाले भने –“गाडिमा क्षमता भन्दा बढी यात्रु राख्ने चलन त छदैछ त्यसमा पनि मनोमानी भाडा छ दोहोरो मारमा छौ हामी ।”
चार बर्ष अगाडि जिल्ला प्रशासन कार्यालय डोटीमा तत्कालिन प्रमुख जिल्ला अधिकारीको पहलमा भाडा घटाई डौड सम्मको गाडीभाडा बढीमा ३ सय लिन निर्देशन गरिएको भएपनि यातायात ब्यवसायीहरुको मनोमानीका कारण सो नियम हालसम्म पनि लागू हुन सकेको छैन । त्यसयता कुनै पनि सडकमा भाडा नियमनको लागि कुनै काम भएको देखिदैन ।
दिपायल हुदै दैनिकरुपमा बोगटान, सायल र केआईसिंह गाउँपालिका लगायतका ग्रामिण क्षेत्रमा दैनिक १०÷१५ भन्दा बढी भाडाका जिप यात्रु लिएर ओहोर दोहोर गर्छन । सर्बसाधारणले सामान्य कामका लगी ग्रामिण क्षेत्रवाट सदरमुकाम लगायतका ठाउँमा आउदा चर्को भाडा तिर्नु परेको छ । धेरै जसो जिल्ला र केन्द्रका अधिकार समेत स्थानीयतहमा भए पनि स्थानीयतहले पनि चर्को भाडा दरका बिरुद्ध कडाईका साथ प्रस्तुत हुन सकेको छैन । सायल गाउपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलका अनुसार जिल्ला दररेट अनुसारको भाडा कायम गराउन पटक–पटक जिल्ला प्रशासन मार्फत यातायात ब्यबसायीसंग छलफल गर्न खोजिएको भएपनि यातायात ब्यबसायीले अटेर गरेका कारण दर रेट अनुसारको भाडा कायम गराउन नसकिएको हो । अध्यक्ष डुम्रेलले भने –“यातायात ब्यबसायीको मनोमानी कायमै छ । चर्को भाडा घटाउनका लागि छलफलको प्रयासमा छौ केही हुन्छ होला ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार