११ श्रावण २०८१, शुक्रबार

सम्पादकीयः ठोस काम देखाउने वर्ष बनाऊ



सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्षका लागि वार्षिक नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । मुलुक संघीयतामा गएपछि धनगढी उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधि आएको दुई वर्ष पुग्न लागेको छ । वितेका दुई वर्षमा उपमहानगरपालिकामा भौतिक संरचना निर्माणका केही काम भएका छन् । कतिपय ठूला विकास योजनाको निर्माण कार्य जारी रहेको अवस्था छ । उपमहानगरपालिकाले नगरको दूरदृष्टिका रुपमा “व्यावसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत शहर धनगढी” को नारा तय गरेको छ । आइतबार प्रस्तुत उपमहानगरापालिकाको नीति, कार्यक्रम तथा बजेटले मुल रुपमा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकास, राजश्व परिचालन, सूचना तथा सञ्चार प्रविधि, भवन नक्सा पास, वित्तीय व्यवस्थापन तथा आर्थिक अनुशासन र महिला तथा बालबालिका शिर्षकमा विकासका कार्यक्रम निर्धारण गरेको छ । नीति तथा कार्यक्रममा केही आकर्षक कार्यक्रमका रुपमा युवा लक्षित कृषि कार्यक्रम सञ्चालन, शहरी क्षेत्रमा कौसी खेति, उद्यमशील शहरको लागि आधार निर्माण, धनगढी छाडा पशुचौपायारहित नगर, मानवतामा आधारित धनगढी शहर, सांस्कृतिक साइकल ट्रयाक निर्माण, विद्यालयको पहु“च भन्दा बाहिर रहेका बालवालिकालाई ‘झिकाउ, टिकाउ र सिकाउ’ जस्ता कार्यक्रम अघि सारेको छ ।
धनगढी प्रदेशकै मुख्य व्यापारिक, स्वास्थ्य तथा शैक्षिक केन्द्रका रुपमा स्थापित रहेको छ । त्यसैले यो निकै सम्भावना रहेको नगर पनि हो । तर, विगतदेखि अहिलेसम्म परम्परागत विकासका अवधारणालाई नै निरन्तरता दिने गरिएको छ । धनगढीलाई कसरी चिन्ने अथवा धनगढीलाई चिनाउने मुख्य आधार के हुने ? अथवा मुलुकका शहरहरूबीच धनगढीको विशिष्ट पहिचान के हुने ? भन्ने सवालमा कहिल्यै पनि गम्भीरतापूर्वक मनन् गरिएको देखिदैन । व्यवस्थित भौतिक विकास धनगढीको अहिले पनि प्रमुख चुनौति र समस्याका रुपमा रहेको देखिन्छ । नियमित रुपमा हुने भौतिक विकासलाई नै उपलब्धीका रुपमा प्रस्तुत गरेर गौरब गर्ने मानसिकताले अझैं पनि निरन्तरता पाएको देखिन्छ । नगरमा ऐलानी पर्ती जमिनको व्यवस्थापन, सार्वजनिक जग्गा तथा खोलानदी अतिक्रमणको चर्को समस्या विद्यमान रहेको छ । ढल तथा पानी निकास सधैं टाउको दुखाईका रुपमा रहने गरेको छ । व्यवस्थित शहरीकरण तथा बसोबासप्रति किञ्चित पनि ध्यान दिने गरिएको पाइदैन । न त नगरभित्र उद्यमशिलता तथा रोजगारी प्रवद्र्धनका लागि ठोस योजना लागू गर्नेतर्फ नै ध्यान दिएको पाइन्छ ।
धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिरहदा आम नगरबासीमा कत्तिको उत्साह जाग्यो भन्नेमा गम्भीर हुनु आवश्यक हुन्छ । उपमहानगरपालिकाले घोषणा गर्ने कुनै पनि विकास आयोजना तथा अन्य कार्यक्रम त्यतिवेला मात्रै उपलब्धीमुलक र सार्थक हुन्छन्, जतिवेला आम नगरबासीले ती कार्यक्रमप्रति विश्वास गर्दछन् । हरेक वर्ष नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने नियमित कार्य हुन् । मुख्य सवाल वितेका दुई वर्षमा भए गरेका कामकारबाही, विकासको गति तथा कार्यक्रमहरूको प्रभावकारीताको गम्भीर ढंगले समिक्षा गरियो भने मात्रै आगामी दिनका लागि घोषणा गरिएका कार्यक्रमहरूप्रति जनताको विश्वास बृद्धि हुनेछ भन्ने बोध गर्नु आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार