१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिमका स्थानीय तह विरूद्ध अख्तियारमा उजुरी बढ्दाे



धनगढी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरीको संख्या पनि बढेकाे छ ।

अायोगको भीमदत्तनगरस्थित कार्यालयको तथ्यांक अनुसार पछिल्लो समय स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएको हाे । आयोगको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा रहेका ८८ स्थानीय तह विरूद्धका दुई सय ४० उजुरी परेका छन्। आर्थिक वर्ष २०७५/०७६ को चैतसम्म स्थानीय तहमा भएको अनियमितता सम्बन्धका एक सय १३ उजुरी दर्ता भएका छन्।

गत आर्थिक वर्षमा जम्मा ३७ मुद्दा मात्रै अख्तियारमा दर्ता भएका थिए। गत वर्षभन्दा चालु आर्थिक वर्षको उजुरीको संख्या ३ गुणाले बृद्धि भएर एक सय १३ पुगेको छ।

कैलालीका १३ स्थानीय तह विरूद्ध सबै भन्दा बढि उजुरी

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांक अनुसार पछिल्लो ६ वर्षको अवधिमा कैलालीका सबैभन्दा बढी एक हजार २ सय ६१ उजुरी दर्ता भएका छन् भने सबैभन्दा कम बाजुराका १ सय २० उजुरी दर्ता भएका छन् । जसमध्ये स्थानीय तहमा भएका अनियमितता सम्बन्धी कैलाली २८ र बाजुराका २ मुद्धा रहेका छन् ।

कैलालीबाट परेका एक हजार ५६ र कञ्चनपुरका ९ सय ४६ उजुरी फछ्र्यौट गरिएका छन्। दार्चुलाका २ सय ६७ मध्ये २ सय १७, बैतडीका ५ सय ५ मध्ये ३ सय ९९, डडेल्धुराका ३ सय ५४ मध्ये, २ सय ९६, बझाङका २ सय ४६ मध्ये, १ सय ८४, बाजुराका १ सय २० मध्ये, १ सय ६, अछामका २ सय १३ मध्ये १ सय ७४ र डोटीका ३ सय ४४ मध्ये ३ सय १२ मुद्दा फछ्र्यौट गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका शाखा अधिकृत हरिशचन्द्र जोशीले जनाए।

 उनका अनुसार कञ्चनपुरका स्थानीय तह सम्बन्धी १९, डडेल्धुरा ७, दार्चुला १५, बैतडी १०, डोटी ७, अछाम १३ र बझाङ १२ मुद्दा दर्ता भएका छन्। आर्थिक अनियमितता, अनाधिकृत कर्मचारी भर्ना, उपभोक्तासम्बन्धी गठनमा आफ्ना मान्छे राखेर भ्रष्टाचार गरेको, विकास निर्माणमा मापदण्ड विपरित काम गरेको, कामै नभईकन भुक्तानी दिएको लगायतका विषयमा उजुरी परेका हुन । अख्तियारमा पर्ने उजुरी मध्ये ९० प्रतिशत स्थानीय तहमा भईरहेका कमिसन, घुसखोरी र अनियमितताका उजुरी रहेको अख्तियारले जनाएको छ।

चार हजार उजुरी, कारबाही दर न्यून
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुदूरपश्चिम प्रदेश कञ्चनपुरको स्थापनाकालदेखि हालसम्म ६ वर्षको अवधिमा जम्मा ४ हजार ३ सय ९४ उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७०÷०७१ देखि चालु वर्ष २०७५÷०७६ को हालसम्म दर्ता भएका उजुरीमध्ये तीन हजार ७ सय ५ मात्रै फछ्र्यौट भएका छन् ।

उजुरी उपर प्रारम्भिक छानबिन गरेर केही काबारही त केही तामेली र बाँकी फछ्र्यौट गर्ने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका निमित्त प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले बताए। उनका अनुसार गत आर्थिक वर्ष २०७४÷०७५ बाट जिम्मेबारी सरी आएका ५ सय ३२ र चालु आर्थिक वर्ष २०७५÷०७६ मा दर्ता भएका ३ सय २९ गरि कुल ८ सय ७१ मध्ये हालसम्म १ सय ८२ उजुरीको अनुसन्धान कार्य पुरा गरि फछ्र्यौट र बाँकी ६ सय ८९ उजुरीमाथि अनुसन्धान भईरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको तथ्यांक अनुसार आर्थिक बर्ष २०७५÷०७६ को हालसम्ममा सबैभन्दा बढी संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय अन्तरगत ७ सय २५ उजुरी दर्ता भएका छन्। यसअघि आर्थिक बर्ष २०७४÷०७५ मा शिक्षा मन्त्रालय अन्तर्गत सबैभन्दा बढि १ हजार ४ सय ७४ उजुरी दर्ता भएका थिए। चालु अख्तियारमा उजुरी संख्याका उल्लेख्य भएपनि कारबाही दर भने न्यून देखिएको छ।

के गर्दै छ अख्तियार ?
स्थानीय तह लगायतका क्षेत्रमा भ्रष्टाचारका घटना बढ्दै गएको अवस्थामा भ्रष्टाचारलाई जरैदेखि न्यूनीकरण गर्नका लागि अख्तियारले प्रर्बद्धनात्मक कार्यक्रम संचालन गरेको छ।

‘स्थानीय सरकारका वडा तहदेखि हामीले सामुदायिक विद्यालयसम्म अनियमिता रोक्न कार्यक्रम संचालन गरेका छौँ, ‘निमित्त प्रमुख ढकालले भने, ‘भ्रष्टाचार रोक्न विश्व समुदायको साझा चुनौती बनेको छ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार