१० श्रावण २०८१, बिहीबार

संगठित जेष्ठ नागरिकको सहयोगी घुम्तीकोष



धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ३ का कृष्णबहादुर केसी शिक्षकबाट सेवानिवृत्त भएपछि जेष्ठ नागरिक समूह बनाउन कस्सिएका छन् । ६६ वर्षीय सेवानिवृत्त शिक्षक केसी चार वर्षअघि चौमालामा गठन भएको मोहन्याल जेष्ठ नागरिक समूहका सचिव छन् ।
हाल गौरीगंगा नगरपालिकाको ११ वटै वडामा गठित वडास्तरीय जेष्ठ नागरिक समूहमा पनि उनी सचिव बनेका छन् भने नगरपालिकास्तरीय जेष्ठ नागरिक सञ्जाल समितिमा सहसचिव छन् । सचिव केसीले जेष्ठ नागरिकहरू समुदायमा सबैभन्दा बढि जोखिममा रहने हुँदा उनीहरूलाई एकजुट गराउने प्रयासमा रहेको बताए । उनले गौरिगंगा नगरपालिकाले हरेक वडास्तरीय जेष्ठ नागरिक समूहमा घुम्ती कोष सञ्चालनका लागि एक लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको बताए ।
चार वर्ष पहिलेदेखि साविक चौमाला गाविसमा फाया नेपालले जेष्ठ नागरिक समूह गठन गरी डेढ लाख रुपैयाँ घुम्ती कोष सञ्चालनका लागि सहयोग गरेको छ । सो कोषबाट जेष्ठ नागरिकहरूले समस्या परेको बेला सहुलियत ब्याजमा ऋण सहयोग लिने गरेका छन् ।
फाया नेपालले “नेपालमा विपद् उत्थानशील प्रयासहरूबाट जोखिमपूर्ण समुदायको पूर्वतयारी स्थिति निर्माण (आइडिआर–दोस्रो) परियोजना” अन्तरगत जेष्ठ नागरिक समूहलाई दिएको कोषबाट जेष्ठ नागरिकहरूले आयआर्जनका लागि पनि मासिक एक प्रतिशत दरमा ऋण लिने गरेका छन् । समुहका सचिव केसीले बिरामी हुँदा उपचारका लागि तथा आयआर्जन र अन्य समस्या परेको बेला जेष्ठ नागरिकहरूले समूहबाट ऋण लिन गरेको बताए । उनीहरूले समूहको कोष बृद्धिका लागि मासिक प्रतिव्यक्ति २० रुपैयाँ जम्मा गर्ने गरेका छन् ।
जेष्ठ नागरिक र उनका परिवारको समस्या टार्न र आयआर्जन गर्न जेष्ठ नागरिक समूह र त्यस सञ्चालन गरेको घुम्तीकोष सहयोगी सिद्ध भएको छ । त्यस्तै, यसले परिवारमा जेष्ठ नागरिकको हेरचाह तथा मानसम्मान बृद्धि गरेको समुहका सदस्यहरूको अनुभव छ । यही सिकाईलाई प्रयोग गर्दै गौरीगंगा नगरपालिकाले प्रत्येक वडामा जेष्ठ नागरिक समूह बनाएर कोषका लागि एक लाख रुपैयाँ विनियोजन गरेको केसीले बताए ।
उनले आफूसहित समूह नै खटिएर नगरपालिकाको सबै वडामा जेष्ठ नागरिक समूह गठन गरिसकेको बताए । आपतविपतका बेला जेष्ठ नागरिकहरू बढि जोखिममा पर्ने भएकाले उनीहरूप्रतिको हेरचाह बढाउनुका साथै मानसम्मान गर्नुपर्छ भन्ने धारणाको विकास गर्न जेष्ठ नागरिक समूहले सहयोगी भूमिका निर्वाह गरिरहेको जेष्ठ नागरिकहरूले अनुभव सुनाए ।प्रत्येक महिना बैठक बस्ने जेष्ठ नागरिक समूहमा मौषमी विपद्हरूको बारेमा समेत छलफल हुने गरको छ । ऋतु अनुसार हावाहुरी, गर्मी, आगलागी, बर्षा, बाढी, पहिरो, शितलहर लगायत मौषमी रोगव्याधीहरू र त्यसबाट बच्ने उपायको बारेमा छलफल गर्ने गरेको समुहका सदस्यहरूले सुनाए । उनले समूहको बैठकमा परिवारका सदस्य समेत आउने गरेकाले जेष्ठ नागरिकको स्याहारसुसारको बारेमा समेत छलफल गरी हेरचाहका लागि उत्प्रेरणा जगाउने गरेको बताए । सचिव केसीले समूहमा जेष्ठ नागरिकहरूलाई चर्पीको प्रयोगको बारेमा समेत छलफल गराउने गरेको बताए ।
जेष्ठ नागरिक समूहबाट स्वयं सचिव केसीले पनि प्रत्यक्ष रुपमा फाइदा लिएका छन् । उनले बारीको तरकारी सिंचाई गर्नका लागि मोटर किन्न १५ हजार रुपैयाँ तथा भतिजालाई अमेरिका पठाउनका लागि समूहबाट ५० हजार रुपैयाँ ऋण लिएको बताए । तरकारी आफ्नै बारीमा उत्पादन गर्न थालेपछि किनेर खानुपर्ने समस्या हटेको उनले बताए ।
कैलालीकै गोदावरी नगरपालिकामा पनि वडास्तरीय जेष्ठ नागरिक समूह र नगरपालिकास्तरीय जेष्ठ नागरिक सञ्जाल समिति गठन गरिएको छ । गोदावरी वडा नम्बर १० को जेष्ठ नागरिक समूहका अध्यक्षमा ६५ वर्षीय गोपालदत्त भट्ट छन् । उनी नगरस्तरीय जेष्ठ नागरिक सञ्जाल समितिका उपाध्यक्ष पनि हुन् ।
उनले अध्यक्षता गरिरहेको समूहले पनि फायाको डेढ लाख रुपैयाँ सहयोगमा घुम्ती कोष सञ्चालन गरेको छ । उनले जेष्ठ नागरिकहरूलाई आवश्यक परेको बेला मासिक एक प्रतिशत ब्याजमा २० हजार रुपैयाँसम्म छ महिनाका लागि ऋण सहयोग दिने गरेको बताए ।
गोदावरी नगरपालिका वडा नम्बर १०, डमौराका ६९ वर्षीय कमलसिंह ऐरले समूहबाट पाइने एक रुपैयाँ व्याजको ऋणले आफूलाई निकै सहयोग गरेको बताए । उनले समूहबाट १० हजार रुपैयाँ ऋण लिएर बाख्रापालन गरेका छन् ।
फाया नेपालको आइडिआर–दोस्रो परियोजना अन्तरगत धनगढी उपमहानगरपालिकाको वडा नम्बर १०, १५ र १८ तथा गोदावरी नगरपालिकाको वडा नम्बर १ र १० एवं गौरीगंगा नगरपालिकाको वडा नम्बर १ र ७ मा जेष्ठ नागरिक समूहले घुम्ती कोष सञ्चालन गरेका छन् । जेष्ठ नागरिक समूहहरूमा ती वडाका हजारौं बृद्धबृद्धा संगठित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार