१० श्रावण २०८१, बिहीबार

बुढी पोल्ने पर्व मनाइयो



डडेल्धुरा । असोज संक्रान्तिका दिन सोमबार सुुदूरपश्चिमका विभिन्न स्थानमा बुढी पोल्ने पर्व मनाइएको छ । प्रत्येक वर्ष असोज संक्रान्तिका दिन भगवान श्रीकृष्णले पुतनालाई मारेको स्मरणमा यो पर्व मनाइने गरिन्छ ।
पण्डित रामचन्द्र भट्टका अनुसार द्वापर युगमा भगवान श्रीकृष्णले राक्षसनी पुतनालाई मारेपछि उनका साथी गोठालाहरूले पुतनाको शव दहन गरेको सम्झनामा यो पर्व मनाइन्छ ।
भदौ संक्रान्तिका दिन गाडिएको सल्ला वा अन्य बोटको लिंगोमा साँझपख बुढी पोली र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन रहेको छ । ओल्के संक्रान्तिका दिन गोठालाले बुढीको प्रतिमा राखेर त्यसमा दैनिक रुखका हाँगा थप्ने गर्दछन् ।
ओल्के संक्रान्तिका दिन गाउँ नजिकै उँचो टाकुरामा सबै मिलेर रूखका हाँगाबिगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । सो थुप्रालाई स्थानीय भाषामा ‘बुढी हालेको’ भन्ने गरिन्छ । यस पर्वमा रातभरी देउडा, भुवा सहितका साँस्कृतिक कार्यक्रम पनि गरिन्छ ।
यो पर्व सुदूरपश्चिमको डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा र डोटीलगायत जिल्ला तथा भारतको उत्तराखण्डका कुमाउ, गढवालमा समेत मनाउने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार