१२ श्रावण २०८१, शनिबार

निर्माण सामग्री गुणस्तर जाँच्ने प्रयोगशाला प्रयोगबिहिन



धनगढी । पूर्वाधार निर्माण गर्दा माटो, गिट्टी, बालुवा लगायतका निर्माण सामग्रीको गुणस्तर जाँच गर्न कैलालीको धनगढीमा स्थापना भएको प्रयोगशाला अलपत्र परेको छ ।
२०६१ सालमा ग्रामीण पहुँच सुधार तथा विकेन्द्रित परियोजना (आरएआइडीपी) को सहयोगमा स्थापना भएको सो प्रयोगशाला हाल प्रयोगमा छैन । प्रयोगशालामा गिट्टीको क्षमता जाँच्ने, गिट्टीको भार थाम्ने क्षमता, गिट्टीको क्रसिङ भ्याल्यू, माटोको प्लाष्टिसिटी र ढलानमा प्रयोग हुने मसलाको कम्प्रिहेन्सिभ स्ट्रेन्थ टेष्ट गर्ने एक करोड रुपैयाँ बढी मूल्यका उपकरण छन् ।

जिल्ला समन्वय समिति कैलालीमा रहेको करोड लगानीको प्रयोगाशाला अहिले प्रयोगबिहिन अवस्थामा छ । तस्बिर : एकिन्द्र तिमिल्सेना

प्रयोगशालाका ल्याव टेक्निसियन प्रदीप भट्टका अनुसार पक्की पुल, ठूला भवन निर्माण, कालोपत्रे, सडक ग्राभेल गर्दा यसमा लाग्ने सामग्रीको गुणस्तर मापन गर्न प्रयोगशालाका उपकरणको प्रयोग गर्नुपर्नेमा हाल प्रयोगविहिन अवस्थामा छन् । “निर्माण आयोजनालाई अनिवार्य गरेमा काम पनि गुणस्तरीय हुन्छ, राजश्व पनि उठछ” ल्याव प्राविधिक भट्टले भने– “निर्माण भइरहेका आयोजनाहरूको गुणस्तर मापन छैन, प्रयोगशाला सेवाबाट आउने संभावित राजश्व पनि उठदैन ।”
उनले आफूले भजनी–सुखड सडक खण्डको जुटपानी खोलाको पुल र बौनिया–भजनी सडकमा प्रयोग भएको ओटासिलको गुणस्तर जाँच गरेको बताए । प्रयोगशालामा तीन वर्षदेखि कार्यरत टेक्निसियन भट्टले भने– “बौनिया–भजनी सडकको ओटासिल हलुका सवारीका लागि बनेको हो, तर गुणस्तरीय बनेकाले भारी सवारी चल्दा पनि कुनै समस्या भएको छैन ।”
प्रदेश नम्बर ७ का प्रदेश सभा सदस्य तथा अर्थ विकास तथा प्राकृतिक श्रोत समितिका सदस्य पूर्णा जोशीले भौतिक पूर्वाधारको गुणस्तर अनुगमनका लागि आवश्यक व्यवस्था गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई लेखि पठाएको र यस्ता प्रयोगशाला सञ्चालनमा आउनुपर्ने बताइन् ।
जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले जिल्ला सभाबाट प्रयोगशाला सञ्चालनमा ल्याउने र यसका लागि आवश्यक पर्ने दुई जना ल्याव टेक्निसियनको माग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार