११ श्रावण २०८१, शुक्रबार

धुमधामसँग गुरही पर्व मनाइयो



धनगढी । थारू समुदायले परापूर्वकालदेखि पहिलो पर्वका रूपमा मनाउँदै आएको गुरही पर्व बिहीबार कैलालीमा धुमधामसँग मनाइयो । यो पर्व साउन महिनाको शुक्लपक्षको पञ्चमी तिथि अर्थात् नागपञ्चमीको दिन मनाइने गरिन्छ ।
सो अवसरमा धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित गुरहीचोक (क्याम्पसचोक) मा ‘हमार कला संस्कृति, परम्परा, हमार पहिचान : यकर संरक्षण ओ सम्वद्र्धन कैना हमार अभियान’ नारा सहित सखी सञ्जालको आयोजनामा गुहरी पर्व मनाइयो ।
कार्यक्रमको नगर प्रमुख नृपबहादुर वडले उद्घाटन गरे । सो अवसरमा उपमहानगरपालिका प्रमुख वडले संस्कार र संस्कृति भुलेर पहिचान बचाउन नसकिने चर्चा गरे ।
नगरप्रमुख वडले धर्म र संस्कृति मेटाउन खोज्नेहरू नै पहिचानका ठूला कुरा गरिरहेको चर्चा गरे । “मठ मन्दिर, देउथान, धार्मिक स्थल भत्काएर पहिचान बचाउन सकिदैन”, उनले भने– “थारू समुदाय संस्कार र संस्कृतिमा धनी छ । थारू समुदायका चाडपर्व पहाडी समुदायद र पहाडी समुदायका चाडपर्व थारू समुदायले मनाउन थालेका छन्, त्यसैले अब हाम्रा संस्कृति साझा हुँदै गएका छन् ।”
कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले थारू र पहाडी समुदायका चाडपर्वहरू सबैले मिलेर मनाउन थालिसकेको चर्चा गरिन् । उपप्रमुख मिश्रले भनिन्– “यिनै चाडपर्वले हाम्रो सामाजिक सद्भाव तथा एकतालाई बलियो बनाउने छ ।” उपप्रमुख मिश्रले थारू भाषामा नै शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् ।
उपप्रमुख मिश्रले युवाहरूलाई संस्कृतिसम्बन्धी विशेष किसिमको तालिम दिनुपर्ने बताइन् । उनले थारू संस्कृतिसँगै थारू बाजाको पनि संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।
सञ्जालका सचिव उन्नती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष नारायण बराल, थारू कल्याणकारिणी सभाका जिल्ला सचिव माधव चौधरी, गोमा आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सञ्जालका सदस्य आशा चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन अध्यक्ष ईन्दु चौधरीले गरेकी थिइन् ।
त्यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर १ शान्तिटोलमा पनि बिहीबार गुरही पर्व मनाइको छ । कार्यक्रममा नगर प्रमुख वड, उपप्रमुख मिश्र, वडाध्यक्ष सन्तोष मुडभरी लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा वडा नम्बर १ का वडाअध्यक्ष मुडभरीले गुरही पर्व सद्भावको पर्व भएको चर्चा गरे ।
त्यस्तै, कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० मा पनि गुरही पर्व मनाइएको छ ।
यो पर्व खेतीपाती सकिएपछि धानबालीमा किरा नलागोस् भनेर मनाइने गरिन्छ । यो पर्वमा थारू समुदायका युवतीहरू गाउँभन्दा टाढाको चोकमा गएर कपडाले बनाइएका स–साना गुरही (गाइने किराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको छ ।
यो पर्व बालबालिकासँग सम्बन्धित पर्व पनि मानिन्छ । गुरही सेलाउँदा बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने विश्वास गरिन्छ । पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुका साथै गाउँमा भएको दु:ख, संकट र विपत्ति भाग्ने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार