करण थापा हत्या घटना : दुई जना पक्राउ
धनगढी । कैलालीको टीकापुरमा गत १७ गते भएको करण थापा हत्या घटनामा संलग्न भएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
होली खेल भइरहेको बेला गत १७ गते राति २१ वर्षीय थापाको हत्या भएको थियो ।
प्रहरीले सोमबार टीकापुरका १८ वर्षीय सन्दीप रावल र २१ वर्षीय सागर पाण्डेयलाई काठमाडौंको बालाजुबाट पक्राउ गरेको जनाएको छ ।
कैलालीका प्रहरी प्रमुख (एसपी) विनोद घिमिरेले पक्राउ परेका दुवै जनालाई काठमाडौंबाट कैलाली ल्याइने बताए ।
प्रहरी प्रमुख घिमिरेका अनुसार उनीहरू दुवै जना हत्या घटनाको दिनदेखि नै फरार भएको प्रारिम्भिक अनुसन्धानबाट खुलेको छ ।
युवक थापाको हत्यापश्चात टीकापुर क्षेत्र चार दिनसम्म तनावग्रस्त रहेको थियो । आइतबार प्रहरी निरीक्षक पुस्कर चन्दको कमाण्डमा नौ जनाको अनुसन्धान टोली गठन गरेपछि तीन दिनपछि सोमबार मात्र आफन्तहरूले शव बुझेका थिए ।