१४ कार्तिक २०८१, बुधबार

धुमधामसंग महाशिवरात्रि मनाइयो



धनगढी । हिन्दू धर्मावलम्बीहरूको महान धार्मिक पर्व महाशिवरात्रि मंगलबार धनगढीसहित देशभरी धुमधामसंग मनाइएको छ ।
महाशिवरात्रिको अवसरमा बिहानैदेखि शिव मन्दिरहरूमा दर्शनार्थीहरूको ठूलो घुइचो लागेको थियो । धनगढीको शिवपुरी, पशुपतिनाथ मन्दिर लगायतका मठमन्दिरमा बिहानैदेखि अबेर साँझसम्म दर्शनार्थीहरूको घुइचो लागेको थियो ।
पछिल्ला केही वर्षयता हिन्दू धर्मावलम्बीहरूको प्रमुख आकर्षण बन्दै आएको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित शिवपुरीमा बिहानदेखि साँझसम्म दर्शनार्थीहरूको अपार भीड लागेको थियो ।
नेपालमा सबैभन्दा अग्लो ज्योतिर्लिङ्ग (एक सय आठ फुट) रहेको शिवपुरीमा दर्शनार्थीहरूलाई सहज रुपमा पुजाआजाको व्यवस्था मिलाइएको थियो ।
महाशिवरात्रि प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइन्छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिलाई पुराणमा विशेष बर्णन गरिएको छ ।
दु:खी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइन्छ । व्रतमा सर्वाेत्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
कैलालीका प्रसिद्ध धार्मिक स्थल तथा शिव मन्दिरमा पनि शिवरात्रिको अवसरमा मेला लागेको थियो । जिल्लाको प्रसिद्ध धार्मिक स्थल शिवपुरी धाम र जाखोरतालमा रहेको शिवमन्दिरमा मेला लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार