२३ बैशाख २०८१, आईतवार

बढ्दो वन्यजन्तुको चोरीसिकारी



धनगढी । गत आइतबार सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, डोटीको अनुसन्धान समुह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले पाठेबाघ र चितुवाको छाला तथा हड्डीसहित छ जनालाई पक्राउ गर्‍यो । प्रारम्भिक प्रहरी अनुसन्धानमा चितुवाको छाला तीन महिनाअघि डोटीको सिमचौर, पाङ्सा भन्ने टाउँबट ल्याइएको र पाठेबाघको छाला र हाड भारतबाट ल्याइएको खुलेको छ । प्रहरीले गोदावरी नगरपालिका–१२ चौकीडाँडाबाट ११ फिट लम्बाई र दुई फिट पाँच ईन्च चौडाइ भएको पाटेबाघको छालासहित उनीहरूलाई पक्राउ गरेको जनाइएको थियो ।
त्यस्तै, प्रहरीले गत चैत १६ गते पाठेबाघको छालासहित धनगढी उपमहानगरपालिका–३, बोराडाँडीबाट एक जनालाई पक्राउ गर्‍यो । डडेल्धुरा, परशुरामधाम नगरपालिका–५ का १८ वर्षीय सनम जाग्री १० फिट छ ईन्च लम्बाई र दुई फिट १० ईन्च चौडाईको बाघको छाला तस्करी गर्ने क्रममा पक्राउ परेका थिए । सो छाला भारतबाट ल्याइएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

फाइल तस्बिर

त्यस्तै, अघिल्लो वर्ष (२०७२ साल) मंसिर २७ गते आरआइटीले बाबरिया समुदायका छ जनालाई पाठेबाघको छालासहित पक्राउ गरेको थियो । घुमन्ते समुदायका रूपमा चिनिने भारतीय नागरिक बाबरियाले नेपाmमा आएर बाघ, चितुवा मार्ने गरेको प्रहरी अनुसन्धानले देखाएको थियो । प्रहरीले उनीहरूलाई ११ फिट दुई इन्च लम्बाई र तीन फिट दुई इन्च चौडाइको तथा १० फिट नौ इन्च लम्बाई र तीन फिट दुई इन्च चौडाईका गरी दुई थान पाटे बाघको छालासहित पक्राउ गरेको थियो ।कैलालीमा बाघ, चितुवासहित दुर्लभ बन्यजन्तुका छाला तथा हाड (आखेटोपहार) तस्करी बृद्धि भइरहेका यी केही उदाहरण मात्र छन् । वन्यजन्तुको चोरीसिकारीमा संलग्न स्थानीय तथा अन्तर्राष्ट्रि्रय गिरोहहरूले कैलालीमा गतिविधि बढाएको कैलालीका जिल्ला वन अधिकृत डाक्टर राजेन्द्र केसी बताउँछन् ।
जिल्ला वन कार्यालय, कैलालीका अनुसार खुल्ला भारत नेपाल सिमाना भएका कारण तस्कर गिरोहले भारतबाट कैलाली र कञ्चनपुरको बाटोहुँदै दार्चुला, बाजुरा बझाङहुँदै चिनतर्फ तस्करी हुने गरेको जिल्ला बन अधिकृत डाक्टर केसी बताउँछन् । ‘नेपाल र भारतबीत खुल्ला सिमाना छ, त्यसैले बन्यजन्तु चोरीनिकासी गर्न सहज भएको छ’ डाक्टर केसीले भने–भारतबाट चीनतर्फ चोरीनिकासी गर्न तस्कर गिरोहले ७ नम्बर छोटो बाटोका रूपमा प्रयोग गरिरहेको पाइन्छ । उनको अनुभवमा अहिले कैलाली बन्यजन्तु चोरीनिकासीको ट्रान्जिट प्वाईन्ट बन्दै गएको छ ।
जिल्ला वन कार्यालय कैलालीमा २०६८ सालदेखि ०७२ सम्ममा १८ वटा वन्यजन्तु चोरीसिकारीका मुद्दा दायर भएका छन् । त्यस्तै, आर्थिक वर्ष ०७३/०७४ को चैतसम्म चारवटा मुद्दा दायर भएका छन् ।
ती घटनामा जिल्ला वन कार्यालयले ६२ जना नेपाली र ११ जना भारतीयलाई पक्राउ गरि कारबाही गरेको छ ।
कैलालीमा बाघ तथा चितुवाको छाला र हाडका साथै चितुवा, बदेल, निलगाई र मयुरको मासुको पनि तस्करी हुने गरेको छ ।
नेपालमा २७ वटा स्तनधारी, नौ वटा चरा प्रजाती र तीन वटा घ्रसिने जीवसहित ३९ बन्यजन्तुलाई दुर्लभ वन्यजन्तुको सूचीमा राखिएको छ ।
पछिल्लो समय यो क्षेत्र वन्यजन्तु तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएपछि जिल्ला वन कार्यालय कैलालीले सुरक्षा निकायहरूसंग सहकार्य गरेर नियन्त्रणको प्रयास गरिरहेको जिल्ला वन अधिकृत डाक्टर केसीले बताए । उनले कैलालीसंग जोडिएको भारतीय दुधवा राष्ट्रिय निकुञ्ज, कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, नेपाल सेनाहरुसंग वन्यजन्तु तस्करी न्यूनिकरणका लागि सहकार्य गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार