१८ मंसिर २०८२, बिहीबार

विश्व एड्स दिवस विशेष



सुदूरपश्चिममा एचआईभी नियन्त्रणमा प्रगति सुस्त, संक्रमित र मृत्यु दरमा अपेक्षित सुधार आएन

धनगढी, मंसिर १६/. विश्व एड्स दिवसका सन्दर्भमा सुदूरपश्चिम प्रदेशमा एचआईभी संक्रमण नियन्त्रणको अवस्थाबारे सार्वजनिक तथ्यांकले प्रदेशमा संक्रमण दर र मृत्यु दर दुवै क्षेत्रमा अपेक्षित सुधार नआएको देखाएको छ। पाँच वर्षको तथ्यांक हेर्दा नयाँ संक्रमितको संख्या कहिले घट्ने, कहिले बढ्ने क्रम दोहोरिएको छ।

संक्रमित संख्यामा वर्षैभरि उतार–चढाव
स्वास्थ्य निर्देशनालय, राजपुर डोटीका अनुसार पछिल्ला पाँच आर्थिक वर्षमा एचआईभी संक्रमित संख्यामा स्थिररूपमा कमी आउन सकेको छैन।

आर्थिक वर्ष २०७७/७८ मा २१५ संक्रमित
२०७८/७९ मा वृद्धि भई ३२५ पुगे

२०७९/ ८० मा २५२ मा घट्यो

२०८०/८१ मा २१८

२०८१/८२ मा झनै घट्दै १८१ जना नयाँ संक्रमित पहिचान
हाल प्रदेशभर ३,७३० जना उपचारमा रहेका छन् भने ३,४९० जनाको भाइरल लोड दबिएको निर्देशनालयले जनाएको छ।

गत वर्ष प्रदेशभर ५,०२३ संक्रमित पहिचान हुने अनुमान गरिए पनि ४,०४९ जनामात्रै पत्ता लगिनु प्रदेशमा परीक्षण तथा पहुँचसम्बन्धी चुनौती अझै रहेको संकेत मानिएको छ।

यसै अवधिमा ७३,१२० जनाले एचआईभी परीक्षण गराउँदा ०. २ प्रतिशत (१८१ जना ) मा संक्रमण पुष्टि भएको छ।

जिल्लागत अवस्था कैलाली सबैभन्दा प्रभावित, दार्चुला कम जोखिम
आर्थिक वर्ष २०८रर८२ मा सबैभन्दा धेरै नयाँ संक्रमित कैलालीमा भेटिए— ७७ जना। कैलालीमा अहिले १,७४० संक्रमित उपचाररत छन्।
दार्चुलामा भने ६ जना नयाँ संक्रमितसहित ५० जना मात्रै उपचारमा रहे।

अन्य जिल्लाको अवस्था
अछाम : ६ नयाँ संक्रमित, ५७० उपचाररत

कञ्चनपुर : ३३ नयाँ, ४५५ उपचाररत

डोटी : ८ नयाँ, ४९० उपचाररत

बाजुरा : ३ नयाँ, ७२ उपचाररत

बझाङ : ९ नयाँ, ९६ उपचाररत

बैतडी : ९ नयाँ, १३२ उपचाररत

डडेल्धुरा : १३ नयाँ, १२५ उपचाररत

मृत्यु दरमा पनि कमी नआउँदो
सन् २०३० भित्र ‘शून्य नयाँ संक्रमण, शून्य मृत्यु र शून्य भेदभाव’ को लक्ष्य राखिएको भए पनि सुदूरपश्चिममा हरेक वर्ष एचआईभी सम्बन्धित मृत्यु भइरहेको छ।

पछिल्ला पाँच वर्षको तथ्यांकः
२०७७र७८ – ८२ मृत्यु

२०७८र७९ – ७९ मृत्यु

२०७९र८० – ६४ मृत्यु

२०८०र८१ – ६४ मृत्यु

२०८१र८२ – ६३ मृत्यु

स्वास्थ्य निर्देशनालयका निर्देशक डा। खगेन्द्र बमका अनुसार मृत्युको प्रमुख कारण एचआईभी मात्र नभई निमोनिया, डाइवेटिज, दमजस्ता अन्य नसर्ने रोग सहित विभिन्न बहुआयामिक स्वास्थ्य समस्या पनि हुन्। समयमै उपचारमा आउनु र नियमित औषधि सेवन प्रभावकारी उपाय भएको उनी बताउँछन्।

६ स्थानीय तहमा शून्य संक्रमित, गोदावरी सबैभन्दा जोखिममा
प्रदेशका ८८ स्थानीय तहमध्ये ६ तहमा एकजनासमेत संक्रमित छैनन्। सबैभन्दा धेरै संक्रमित कैलालीको गोदावरी नगरपालिकामा— २९१ जना छन् । धनगढी उपमहानगरपालिकामा २४४ संक्रमित रहेका छन्।

प्रदेशका अन्य स्थानीय तहहरुमध्ये
– एक सयदेखि दुई सय संक्रमित भएका ८ स्थानीय तह,
– ५१ एक सय संक्रमित भएका १२ स्थानीय तह,
– २१–५१ संक्रमित भएका १६ स्थानीय तह रहेका छन्।

एचआईभी नियन्त्रणका प्रमुख चुनौतीहरू
– स्वास्थ्यकर्मीहरूले प्रदेशमा एचआईभी नियन्त्रणमा निम्न समस्या मुख्य चुनौती भएको बताउँछन्—
– संक्रमित व्यक्तिहरू नियमित उपचारमा नआउने
– उपचारकै क्रममा भारत प्रस्थान गर्ने
– प्रवासीजनमा नियमित जाँच र परामर्श अभाव
– उमेर बढेसँगै देखिने जिराएट्रिक समस्या
– पोषण र यातायातका बाधा
– एकल महिला तथा बालबालिकाको शैक्षिक पहुँचसम्बन्धी समस्या

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार