७ बैशाख २०८१, शुक्रबार

नयाँ दाना उद्योग सञ्चालन



धनगढी । कैलालीको अत्तरिया–११, गेटामा नविन पैलेट दाना उद्योग सञ्चालनमा आएको छ । नविन दाना उद्योगले बुधवारदेखि पैलेट दाना उद्योग सञ्चालनमा ल्याएको हो ।
२०५९ सालमा मास (काँचो) दाना उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त उद्योगले अबदेखि पैलेट दाना उत्पादन गर्ने नविन दाना उद्योगका प्रबन्धक निर्देशक दिनेश लम्सालले जानकारी दिए ।
‘दाना उद्योग सञ्चालन गर्दा हामीले मासिक तीन सय टन मास दाना उत्पादन गर्दथ्यौं भने दुई सय टन पैलेट दाना भारतबाट आयात गर्दथ्यौ’ उनले भने ‘अब हामीले पैलेट दाना उद्योग सञ्चालनमा ल्याएका छौँ,’ यहाँबाट हामीले दैनिक एक सय कुण्टल पैलेट दाना उत्पादन गर्न सक्ने छौँ ।’ उनले सुदूरपश्चिमलाई मात्र केन्द्रित नभई समग्र देशभरीमै दाना पुर्‍याउने उद्देश्यले उद्योग सञ्चालनमा ल्याएको बताए ।
कुल १५ करोड लगानीमा सञ्चालनमा ल्याईएको उद्योगले वौइलर, लेयर्स कुखुरा, बाख्रा, बङ्गुर, गाई भैसी, माछाको गुणस्तरीया दाता उत्पादन गर्ने उनले दाबी गरे । उद्योगले पशुपालक किसानलाई सर्वसुलभ, गुणस्तरीय, भरपर्दो सेवा दिन पैलेट दाना सञ्चालन गरेको हो ।
उद्योगको बुधवार एक कार्यक्रमका बिच कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले रिवन काटेर र मेसिनको बट्न दबाएर उद्घाटन
गरेका थिए । उद्योगको उद्घाटन गर्दै प्रजिअ रिजालले उद्योगलाई नीतिनियमको पालना गर्न, गुणस्तरीय सेवामा ध्यान दिन र गुणस्तरीया दाना उत्पादन गर्न निर्देशन दिए ।
कार्यक्रममा नेकपा (एमाले)का पूर्व सांसद महेश्वर पाठक, जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डा.डिकरदेव भट्ट, कुखुरा तथा अण्डा उत्पादक सङ्घका अध्यक्ष तुल्सी गौतम, कैलाली उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष दिनेश भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा उद्योग सञ्चालनमा योग्दान पुर्‍याएका कर्मचारीहरूलाई नगद सहित कदरपत्र प्रदान गर्दै सम्मान गरिएको थियो । सम्मान हुनेमा बजार प्रतिनिधि भरत ओली, लेखापाल प्रेम ओली, बजार प्रतिनिधि हरि ओली, सवारी चालक थानेश्वर सापकोटालाई नगद र कदरपत्र सहित सम्मान गरिएको थियो भने पैलेट दाना उद्योग सञ्चालनमा सहयोग गरेको भन्दै विनोद ओली, बच्चनलाल शर्मा र डा.डिकरदेव भट्टलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार