१९ भाद्र २०८१, बुधबार

जनआस्थाका सम्पादक श्रेष्ठलाई बमले उडाउने धम्की, महासंघद्वारा कारबाहीको माग




काठमाडौ/ प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिइएको छ । सो धम्कीको नेपाल पत्रकार महासंघले विरोध गरेको छ ।

महासंघले एक विज्ञप्ती जारी गरेर धम्की दिनेलाई पहिचान गरेर तत्काल कारबाही गर्न माग गरेको छ ।
महासंघका महासचिव रोशन पुरीद्धारा जारी विज्ञप्ति सार्वजनिक गर्दै पत्रकारलाई आतंकित, त्रसित र हतोत्साहित बनाउने कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरिएको छ ।

विज्ञप्तिमा जनआस्था साप्ताहिकका प्रधानसम्पादक समेत रहेका श्रेष्ठलाई आफू नेकपा विप्लवको विद्यार्थी संगठनको सचिवालय सचिव बताउने कपिल सी भन्ने व्यक्तिले मोबाइलबाट फोन गरी अश्लील गालीगलौज गर्दै भौतिक कारबाहीको धम्की दिएको उल्लेख छ।

‘यस्तै गरेर साउन ८ गते मंगलबार बिहान १०ः०० बजेदेखि मोबाइल नम्बरबाट फोन गरेर निज व्यक्तिले अत्यन्त स्तरहीन शब्द प्रयोग गरी प्रधानसम्पादक श्रेष्ठलाई धम्कीपूर्ण शैलीमा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको श्रेष्ठले महासंघलाई जानकारी गराउनुभएको छ, विज्ञप्तिमा उल्लेख छ ।
धम्कीका क्रममा निज व्यक्तिले प्रधानसम्पादक श्रेष्ठ र उहाँकी श्रीमतीलाई जहाँ भेटे त्यहीं मारिदिने बम हानेर घर उडाइदिने जस्ता धम्की दिएका थिए।’

सोही दिन दिउँसो सानेपाको धोबीघाटस्थित जनआस्थाको कार्यालयमा हतियारसहित आएका एक व्यक्तिले ‘एक घण्टाभित्र हाजिर हुन आउने, नआए बम हानेर कार्यालय उडाइदिने भनेर धम्क्याउँदै पत्रिका प्रकाशन कार्यमा समेत अवरोध गरेको विज्ञप्तिमा उल्लेख छ।

‘समाचारसँग सम्बन्धित विषयमा चित्त नबुझेका कुरा भए वार्ता र सम्वादका माध्यम वा कानुनी उपचारको बाटो अवलम्बन गर्नुपर्नेमा त्यसो नगरी यस किसिमको अपराधिक तवरले भौतिक कारबाहीको धम्की दिने, बम हानिदिने र गालीगलौज गर्ने जस्ता हर्कत हुनु समग्र पत्रकारिता क्षेत्रमाथिकै प्रहार हो, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यस्तै यो कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दै महासंघले संविधानले सुनिश्चित गरेको पत्रकार अधिकारको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार