१९ भाद्र २०८१, बुधबार

फुटबलकर्मी खड्काको निधन



धनगढी/ नेपालका पूर्वराष्ट्रिय फुटबल तथा एथलेटिक्स खेलाडी लालबहादुर खड्काको मङ्गलबार ५९ वर्षको उमेरमा निधन भएको छ । उनी मधुमेह रोगबाट पीडित थिए ।

धनगढी उत्तरबेहडीमा जन्मेका खड्काले एथलेटिक्सबाट खेल जीवन सुरु गरेका थिए । । छोटो दुरीका धावक खड्काले लङजम्प पनि खेलेका थिए ।

खड्काले २०४२ सालदेखि फुटबल पनि खेल्न थालेका थिए । उनले चार वर्ष सुप क्षेत्रीय प्रहरी टिमको सेवा गर्ने मौका पनि पाएका थिए ।२०५२ सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहायक फुटबल प्रशिक्षक नियुक्त भएका थिए ।

लालबहादुरको कमानमा पोखरामा भएको राष्ट्रिय महिला फुटबलमा सुदूरपश्चिमको टिमले तेस्रो स्थान प्राप्त गरेको थियो । यसैगरी छैटौँ राष्ट्रिय खेलकुदमा उनकै प्रशिक्षकत्वमा सुपको पुरुष टोलीले एपिएफलाई हराएर स्वर्ण पदक जितेका थिए । लालबहादुरकी श्रीमती रुपादेवी पनि कबड्डी र फुटबलका पूर्वखेलाडी हुन ।

२०४० सालमा पोखरामा दोस्रो राष्ट्रिय खेलमा कबड्डी खेलेकी रूपाले विवाहपछि सेतीको प्रतिनिधित्व गर्दै दाङमा अञ्चल स्तरीय फुटबल प्रतियोगितामा भाग लिएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार