२२ असार २०८१, शुक्रबार

ब्लड क्यान्सर पीडित सुरजको उपचारका लागि धुर्मुस सुन्तली साँझ हुँदै



युरोप/ ब्लड क्यान्सर रोगका पीडित सुरज लौडारीको स्वास्थ्य उपचारका लागि युरोपको माल्टामा धुर्मुस सुन्तली साँझ संचालन हुने भएको छ । हेल्पलाईनको आयोजनामा जुलाई १३ तारीखका दिन व्यास नगरपालिका १ दमौलीका सुरज लौडारीको उपचारका लागि धुर्मुस सुन्तली साँझ संचालन हुने भएको हो ।

शनिबार माल्टाको कुलेजमा रहेको एक नेपाली रेष्टुरेन्टमा हेल्पलाईनको आयोजनामा भएको सुरज लौडारीको उपचारको लागि हुन लागेको धुर्मुस सुन्तली साँझको तयारी कार्यक्रमका सहभागीहरुले मिलेर कार्यक्रम सफल पार्ने प्रतिवद्धता व्यक्त गरेको हेल्पलाईनका संयोजक डीएस राणाले बताए । कार्यक्रमकै लागि नेपालका चर्चित कलाकार धुर्मुस र सुन्तली माल्टा आउन लागेको उनले बताए ।

ब्लड क्यान्सर रोगका पीडित सुरज लौडारीको अवस्थाको बारेमा जानकारी पाएपछि आफू अस्पतालमै भेट्न गएको बेला उपचारका लागि युके लिनुपर्ने र उपचार खर्चधरैे लाग्ने भएकोले धुर्मुस सुन्तली साँझको आयोजना गरेर पैसा संकलन गर्न लागेको राणाले बताए ।

रोजगारीको शिलशिलामा विगत छ वर्षदेखि माल्टामा रहँदै आएका लौडारी अकस्मात बिरामी भएपछि स्वास्थ्य जाँचगर्दा ब्लड क्यान्सर देखिएको लौडारीका ज्वाई एवम् एनआरएनएका उपाध्यक्ष प्रकाश थापाले बताए । ब्लड क्यान्सर देखिएपछि तीन महिनादेखि लौडारीको अस्पतालमै राखेर अहिले उपचार भईरहेको छ ।

ब्लड क्यान्सर रोगको उपचार माल्टामा सम्भव नहुने भएपछि उनलाई थप उपचारको लागि युके लिनुपर्ने डाक्टरले बताएका छन् । अहिलेसम्मको उपचार अस्पतालबाट निशुल्क भएको र थप उपचारको लागि युके लिनुपर्ने भएकोले आर्थिक सहयोगको आवश्यक्ता परेको लौडारीले बताए । पत्रकारसंग कुरा गर्दै पछिल्लो समयमा स्वास्थ्यमा केही सुधार हुँदै गएको बताउँदै आफूलाई सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए ।

लौडारीको उपचारमा सहयोग गर्दै आएका माटर देइ अस्पतालमै कार्यरत गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका कार्यसमिति सदस्य हरिप्रसाद पौडेलले युकेमा लगेर उपचामा गर्दा खर्चधेरै लाग्ने भएकोले सबैसंग सहयोगका लागि अनुरोध गरेका छन् ।

कार्यक्रमका सहभागीहरुले ब्लड क्यान्सर रोगको पीडित लौडारीको उपचार लागि हुन लागेको कार्यक्रम सफल पार्न लागि पर्ने बताएका छन् । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाका वरिष्ठ उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष मधु गुरुङले हेल्पलाईनले गैर नाफामूलक राम्रो कामगर्दै आएको भन्दै कार्यक्रममै ताली बजाएर प्रशंसा गरेका थिए । ब्लड क्यान्सर पीडित सुरज लौडारीको उपचारका लागि हुन लागेको कार्यक्रम सफल पार्न माल्टामा रहेका नेपालीहरु एक भएका छन् ।

सुरुवाती देखिनै उपचारको लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेम्स खनाल र कोषाध्यक्ष आफू निरज श्रेष्ठ० ले अस्पताल संग उपचारको लागि समन्वय गर्दै आएको निरज श्रेष्ठले बताए । युकेमा लगेर उपचार गर्नपर्ने भएकोले एनआरएनएले संस्थागत रुपमा सहयोग गर्ने बताउँदै सहयोगका लागि अक्षयकोष समेत स्थापना गरेर आर्थिक जुटाउने काम भइरहेको श्रेष्ठले बताएका थिए ।

नेपाली लोक साँस्कृतिक मंच माल्टाका अध्यक्ष सौरभ दंगासेले हेल्पलाईनले आयोजन गर्न लागेको ब्लड क्यान्सर रोगका पीडित सुरज लौडारीको उपचारको लागि हुन लागेको धुर्मुस सुन्तली साँझ सफल पार्न सहकार्य गरेर काम गर्न लागेको बताए ।

कार्यक्रममा पत्रकार धनराज अविरल, दिपेश गुरुङ, विजय परियार, अमर रावत, राजेन्द्र विष्ट, विष्णु चापागाई, कृष्ण भण्डारी, सन्तोष पाठक, हेमन्त अर्याल, सुजित बस्याल र शंकर श्रेष्ठले व्यक्तिको जिवन बचाउनको लागि आयोजना गरिएको कार्यक्रम सफल पार्न सहयोग गर्ने बताएका थिए । सुरज लौडारीको उपचारको लागि ३५६७७७३६००९ उनकै मोबाइल नम्बरमा सम्पर्क गरी सहयोग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार