१२ श्रावण २०८१, शनिबार

बाह्रवन व्यवस्थापन कार्य शुरु



धनगढी  । कैलालीको बाह्रवनमा वैज्ञानिक वन व्यवस्थापन कार्य सुरु भएको छ । बाह्रवन साझेदारी वन व्यवस्थापन समितिले पञ्चवर्षीय कार्य योजना बनाई वैज्ञानिक वन व्यवस्थापन लागू गरेपछि एक हजार चार सय सात हेक्टर क्षेत्रफलमा पुनरोत्पादन र कटानी कार्य सुरु भएको छ ।
जिल्ला वन अधिकृत रमेशबहादुर चन्दले वनको गुणस्तरलाई वृद्धि गर्न वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरिएको र यसले जङ्गलको गुणस्तर बढाएर वनबाट दिगो रूपमा फाइदा लिन सकिने बताए ।
वैज्ञानिक वन व्यवस्थापन लागू भएको क्षेत्रमा बिरुवाको पुनरोत्पादनका लागि झाडी सफा गर्ने, घेरबार, अग्नीरेखा बनाउने कार्य भइरहेको छ ।
हाल सुरु भएको बाह्रवन व्यवस्थापनको दशवर्षे कार्य योजना अनुसार ४४ करोड खर्च हुने र एक अर्ब बढी आम्दानी हुने अनुमान गरिएको छ ।
साझेदारी वन क्षेत्रको कम्पार्टमेन्टहरूमा विभिन्न उमेरमा सालको बाहुल्यता ८० प्रतिशत कायम हुने गरी उत्पादनशील वन स्थापना गर्ने, लैगिंक तथा सामाजिक समावेशिकरणलाई आत्मसात गरी गरिबी न्यूनीकरणका लागि दिगो जीविकोपार्जन सुधार गर्ने खालका आयमूलक कार्यकमहरू सञ्चालन गर्ने लगायतका उद्देश्यसहित
१० वर्षे कार्ययोजना तयार गरिएको बाह्रवन साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष ठक्करविक्रम शाहीले जानकारी दिए ।
वन स्रोतमात्र नभई मानव स्रोतलाई सँगसँगै लग्ने उद्देश्यसहित तयार पारिएको १० वर्षे कार्य योजनामा काठ दाउरा सङ्कलन, वन संवद्र्धन तथा कल्चरल अपरेशन, पुनरोत्पादन अभिवृद्धि कार्यक्रम, वन हेरालु/फायर वाचर, अग्नीरेखामर्मत संभार, अग्नी संरक्षण सामग्रीहरू, क्षमता अभिवृद्धि तालिम गोष्ठी, इन्भेन्ट्री तथा रुख नाप र नक्सांकन, वैज्ञानिक अध्ययन, नर्सरी तथा बिरुवा उत्पादन, सार्वजनिक जग्गामा वृक्षारोपण, खोलाकिनारमा तीन लाइन बाँसरोपण, निजी वन तथा सार्वजानिक वन विकासमा सहयोग लगायतका क्रियाकलाप गरिने छन् ।
बाह्रवनबाट यस वरपरका गाविसका ३० वडाका ३१ हजारभन्दा बढी घरधुरी र एक लाख ६३ हजार जनसङ्ख्या लाभान्वित हुने गरेको बताए ।
बाह्रवनको मस्यौदाबारे प्रस्तुति गर्दै बाह्रवनका सहायक वन अधिकृत डबल बोहोराले बाह्रवनको कुल क्षेत्रफल एक हजार सात सय ८९ हेक्टर रहेकोमा एक हजार चार सय सात हेक्टर वन क्षेत्र र तीन सय ८२ हेक्टर खोला किनार रहेको जानकारी दिए । एक हजार चार सय सात वन क्षेत्रमा चार हजार छ सय दुई बिरुवा, पाँच सय २६ लोथ्रा, ७४ पोल र ७३ रुख प्रति हेक्टर रहेको छ ।
बाह्रवनमा परिपक्व अर्थात् बुढा रुखहरू बढी रहेकोले त्यसले जोखिम निम्त्याउने भएकाले यसलाई वैज्ञानिक वन व्यवस्थापनमा लग्न जरुरी रहेको बताए । उनले सो वन क्षेत्रबाट एक लाख ३१ हजार टन कार्वन संचित हुने गरेको र सोही आधारमा चार लाख ८० हजार छ सय १० टन कार्वन वायुमण्डलमा पुग्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार