१५ बैशाख २०८१, शनिबार

कैलालीमा महिला हिंसा बढ्दै



धनगढी  ।  कैलालीमा लैंगिक हिंसाका घटनामा बर्सेनि वृद्धि भइरहेका छन् । जिल्लाभित्र महिला अधिकारका क्षेत्रमा काम गर्ने संघ/संस्थाहरूले दिएको तथ्याङ्कअनुसार लैंगिक हिंसामा कमी आउनुभन्दा वृद्धि भइरहेको देखिएको छ । कैलालीमा महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ/संस्थाका तथ्याङ्क फरक–फरक भए पनि लैंगिक हिंसाका घटनामा भने वृद्धि भइरहेको देखिएको छ ।
सोमबार ओरेक नेपालले आयोजना गरेको ‘कैलाली जिल्लाको महिला हिंसाको अवस्था, समस्या, चुनौती र न्यूनीकरणमा सरोकारवालाको भूमिका विषयमा विचार विमर्श गोष्ठी’मा लैंगिक हिंसाको तथ्याङ्क सार्वजनिक गर्दै अधिवक्ता जानकी तुलाधरले लैंगिक हिंसामा बढी पीडित महिला नै हुने गरेको तथ्याङ्कले देखाएको बताइन् ।
उनले ओरेक नेपालले संकलन गरेको तथ्याङ्कअनुसार घरेलु सम्बन्ध भएका व्यक्तिबाट ७० प्रतिशत घरेलु हिंसा हुने गरेको बताइन् । घरेलु सम्बन्ध भएका व्यक्तिबाट हुने हिंसामा ७७ प्रतिशत घटना श्रीमानबाट हुने गरेको उनको भनाइ छ । १४ प्रतिशत सामाजिक हिंसा भने अधिकांश छिमेकीबाट हुने गरेको पाइएको उनको दाबी छ ।
उनले ९० वटा बलात्कार भएकोमा पाँच प्रतिशत नजिकको व्यक्तिबाटै भएको, ७५ मा चार प्रतिशत यौनजन्य हिंसा, २५ प्रतिशत हिंसामा कूरीति, दाइजो र बोक्सी सम्बन्धी हत्या भएको पाइएको बताइन् ।
उनले हिंसामा पर्ने ३८ प्रतिशत महिलाहरू १६—२५ वर्षको रहेको र हिंसामा अधिकांश साक्षर व्यक्तिनै पर्ने गरेको पाइएको बताइन् ।
राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०६७ देखि २०७० असारसम्ममा आयोगमा दर्ता भएको घटनाअनुसार यस अवधिमा परेका एक हजार ३५ निवेदनहरूमध्ये घरेलु हिंसासम्बन्धी उजुरीको संख्या छ सय ७५ छ भने महिला हिंसा सम्बन्धी उजुरीको सख्या तीन सय ७८ वटा रहेको छ ।
त्यस्तै, प्रहरी प्रधान कार्यालयको तथ्याङ्कमा २०६७ देखि २०७० सालसम्म हिंसाका घटनाहरू हेर्दा जम्मा सख्या आठ हजार नौ सय ९६ वटा उजुरी परेकोमा तीन हजार पाँच सय ९२ अन्य महिलामाथि हुने हिंसा थियो भने पाँच हजार चार सय चार घरेलु हिंसासंग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीमा आर्थिक वर्ष ०७१/७२ मा ५५, ०७२/७३ मा ७२, ०७३/७४ को हालसम्म १९ लैंगिक हिंसा र आर्थिक वर्ष ०७१/७२ एक सय ३७, ०७३/७४ को हालसम्म ६० घरेलु हिंसाका मुद्दा दर्ता भएको तथ्याङ्क उनले सार्वजनिक गरिन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष ०७१/७२ मा जवरजस्ती करणी ३०, जवरजस्ती करणी उद्योग २२ रहेको थियो भने ०७२/७३ मा जवरजस्ती करणी ३८, जवरजस्ती करणी उद्योग आठ, अप्राकृतिक मैथुन एक र मानव वेचविखन सात रहेका थिए भने यस आर्थिक वर्षको कात्तिकसम्म जवरजस्ती करणी १२, जवरजस्ती करणी उद्योग पाँच मुद्दा दर्ता भएका छन् ।
त्यस्तै, ईन्सेक कैलालीको मानवअधिकार वर्ष पुस्तिका २०१६ मा बलात्कारका १३, घरेलु हिंसा ७६, बहुविवाह दुई, बालबालिका बेचविखन तीन, विद्यालयमा शारीरिक सजाय दुई र यौन दुव्र्यवहार एक रहेको तथ्याङ्क छ ।
त्यस्तै, ओरेक नेपालका अनुसार सन २०१६ को जनवरीदेखि नोभेम्बरसम्ममा घरेलु हिंसा ७२, सामाजिक हिंसा पाँच, आत्महत्या दुई, हत्या दुई, बहुविवाह ११, बलात्कारको प्रयास दुई, यौन हिंसा सात, यौन दुव्र्यवहार एक र जवरजस्ती करणी दुई गरी एक सय चार घटना घटेको तथ्याङ्क रहेको छ ।
महिला हिंसा सार्वजनिक गर्न नसक्नु, डर, भय र त्रासले, संकोच हुनु, पितृसतात्मक संरचना सामाजिक मूल्य र मान्यता, पितृसतात्मक सोचबाट माथि उठ्न नसक्नु, जनचेतना र शिक्षामा कमी, समयअनुसार कानुनमा परिवर्तन हुन नसक्नु, बालश्रम शोषण यौन शोषण, बालविवाह, छुवाछूत र भेदभाव कायमै लगायतका कारण महिला हिंसा न्यूनीकरणमा चुनौती देखिएको अधिवक्ता तुलाधरले बताइन् ।
कार्यक्रममा कैलाली सहायक प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले बन्द कोठाभित्र विभिन्न कार्यक्रम गरेर लैंगिक हिंसा न्यूनीकरण नहुँने बताउँदै लैंगिक हिंसा न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने बताए ।
उनले आर्थिक सशक्तिकरणका लागि सीपमूलक, क्षमता विकास र स्वरोजगारमूलक क्रियाकलाप सञ्चालन गर्नुपर्ने, महिला सहभागिता अभिवृद्धि गर्न नागरिक सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने, महिलाहरूको क्षमता अभिवृद्धिमा अवसर प्रदान गर्नुपर्ने, समाजमा रही आएका व्यापक कूरीति र कूसंस्कारको विरुद्धमा विभिन्न संघ/संस्था र सरकारी निकायको सहकार्यमा आवश्यक रणनीति बनाई अन्त्य गर्नुपर्ने बताए ।
ओरेक नेपालकी जिल्ला संयोजक सरिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ/संस्थाका पदाधिकारी, सुरक्षा निकाय, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार