७ जेष्ठ २०८१, सोमबार

३५३४ जना नेपाली : जो आस बनेर आए, लाश बनेर फर्किए…



baidesik-rojgar

कोलडाँडा पाल्पाका दीपक मगरले गतवर्ष जुलाई १२ मा स्वदेश फिर्ने सबै तयारी गरिसकेका थिए । घर फिर्नु एकदिन अघिसम्म साथीभाईलाई आफू स्वदेश फिरेपछि केही व्यवसाय गर्ने योजना सुनाएका दीपकले आफ्नै योजनामाथि अर्को गलत योजना बनाए,  उनले देह त्याग गरे ।

दुईवर्षअघि मलेसिया आएका पुनर्वास नगरपालिका चगाउँ कञ्चनपुरका सन्तबहादुर तामाङको नोभेम्बर १७ मा ‘अकस्मात’ मृत्यु भयो । अघिल्लो दिनसम्म सकुशल रहेका तामाङको भोलिपल्टै प्राण गुम्यो ।

तेनुवापट्टी-३ सिरहाका असेश्वर यादवले अघिल्लो हप्ता बाबु आमालाई फोन गरे भने ‘म अबको १ महिनाभित्रै घर आउँदैछु ।’ दुईवर्षअघि उनले सडक दुर्घटनामा ज्यान गुमाए । विधिको विडम्बना आशा बोकेर बसेका परिवारसामू लास उनी लास बनेर फर्किए ।

मलेसिया नेपालीका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्येको एक हो । दु:खजेलो गरेर धन कमाउन आएका उर्जाशील जनशक्ति कयौंले धन त गुमाए–गुमाए, त्यस्तै अंगभंग समेत भए । जेथा बेचेर आएका कैयौं व्यथा बोकेर फर्किए । त्यो भन्दा पनि डरलाग्दो विषय हो, बढ्दो मृत्युदर ।

सन् २००१ देखि कानुनी रुपमा नेपालीहरु रोजगारीका लागि मलेसिया जाने गरेकोमा सन् २००३ मा नेपाली दूतावास स्थापना भएको थियो ।

दूतावास स्थापना भएयताको झण्डै १४ वर्षे अवधिमा तीन हजार ५ सय ३४ जना नेपालीले विभिन्न कारण मलेसियामा ज्यान गुमाएका छन् । दूतावासको तथ्यांकअनुसार तीमध्ये पछिल्ला वर्ष मृत्यु हुने बढी छन् ।

दूतावासको तथ्यांकअनुसार सन् २००३ देखि यही डिसेम्बर १५ सम्मको मृत्यु भएकाहरुको तथ्यांक हेर्दा मलेसियामा दैनिक सरदर १ जना नेपालीको मृत्यु हुने गरेको छ । पछिल्ला तीनवर्ष मृत्यु हुने नेपालीको संख्या बढ्दो छ ।

यसकारण हुन्छ मृत्यु
मलेसियामा सडक दुर्घटना, औद्योगिक दुर्घटना, आत्महत्या तथा पहिचान नभएका अज्ञात रोगका र सुतेकै अवस्थामा ज्यान जाने (कार्डियक एरेस्ट)  आदि मृत्युका कारण बनेका छन् ।

चिकित्सकहरुले सुतेकै अवस्थामा हुने मृत्युलाई खासगरि ‘कार्डियक एरेस्ट’ भएको बताउँदै आएका छन् । मृत्यु हुनेमा धेरैजसोको दुर्घटना र ‘कार्डियक एरेस्ट’ भएको देखिन्छ ।

दूतावासका एक अधिकारी भन्छन्, ‘सडक पार गर्दा वा सडक छेउ हिँड्डुल गर्ने सामान्य ज्ञान समेत नहुँदा कतिपयले सडक दुर्घटनामा परी अकालमा ज्यान गुमाएको पाइन्छ ।’

सुतेकै अवस्थामा ज्यान गुमाएकाको पोष्टमार्टम रिपोर्टले कतिपयलाई ‘हृदयघात’ त कतिपयको ‘पहिचान नखुलेका रोग’ भएको समेत जनाइएको छ । तर लामै समय रोगले थलिएर मृत्यु हुनेको भने संख्या न्यून छ ।

बढ्दो मृत्युदर
बितेका १४ वर्षयता सबैभन्दा बढी गतवर्ष २०१५ मा ज्यान गुमाउने नेपाली सबैभन्दा धेरै छन् । गतवर्ष ४२५ जना नेपालीले विभिन्न कारण ज्यान गुमाएका थिए । त्यसअघि सन् २०१३ मा ३ सय ४१ र सन् २०१४ मा ३ सय ६१ नेपालीले ज्यान गुमाएका थिए ।

पछिल्ला वर्षको मृत्युदर सन् २००३ देखि यताकै उच्च हो । सन् २००३ मा १०१ र २००४ मा १५२ नेपालीले ज्यान गुमाएका थिए । त्यसैगरी २००५ मा १८९ र २००६ मा १९६ जनाले  विविध कारणले ज्यान गुमाएको दखिन्छ । यसरी ज्यान गुमाउने नेपालीको संख्या सन् २००७ देखि बढ्दै गएको पाइन्छ । उक्त वर्ष २५२ जनाले ज्यान गुमाएका थिए । हालसम्मको तथ्यांक हेर्दा गतवर्ष २०१५ मा मृत्यु हुने नेपालीको संख्या सबैभन्दा उच्च छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार