१५ बैशाख २०८१, शनिबार

एमालेले मात्रै सबै जातजातिलाई समान अवसर दिएको छ



नेपालु चौधरी कैलाली क्षेत्र नम्वर ५ प्रदेश नम्बर (क) को परिचित नाम हो । सो क्षेत्रबाट बाम गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार रहेका ४७ वर्षीय नेपालु एमाले कैलालीका जिल्ला उपसचिव हुन । एमालेका भातृ संगठन युवा संघमा जिल्ला सचिव, अध्यक्ष र केन्द्रीय सदस्यका रूपमा लामो समय काम गरिसकेका उनलाई पार्टीभित्र इमान्दार, लगनशील, कर्तव्यनिष्ठ र लोकप्रिय नेताका रूपमा लिइन्छ । चुनावी प्रचारप्रसारमा निकै व्यस्त रहेका नेपालुसँग गरिएको कुराकानीको सारसंक्षेप :

नेपालु चौधरी
उम्मेदवार, कैलाली क्षेत्र नम्वर ५ प्रदेश सभा (क)

– चुनावी प्रचारप्रसार व्यस्त हुनुहुन्छ, मतदाताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
हामी जहाँ जान्छौं, भव्य स्वागत पाइरहेका छौं । मतदाताले ‘तपाई जस्तो चितपरिचत व्यक्तिलाई हामीले जहिले पनि आफ्ना कुरा राख्न पाउछौं’ भनेर प्रतिक्रिया दिइरहनु भएको छ । धेरैले ‘तपाई प्रचारप्रसारका लागि आउनै पर्दैन, हामी आफै प्रचार गरिरहेका छौ’ भन्छन् । युवा संघ र पार्टीमा काम गरेर घुलमिल भएको कारण मलाई जनताबीच जान सजिलो भएको छ । जनताको अपार स्वागत र व्यवहारले म उत्साहित छु ।

– तपाईका चुनावी एजेण्डा के के छन् ?
जहाँ गए पनि जनताले विकास भएन, बाटो बनेन, चुनावमा जितेर गएकाहरू फर्केर आएनन् भन्ने गरेका छन् । मेरा आफ्ना योजना त छदैछन्, जनताका मागलाई समेटेर मैले फूलवारी–गदरिया सडक पक्की बनाउने, फूलवारी र जुगेडाका भित्रि सडकहरू अझ व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गरेको छु । राना, थारू र खस आर्यका संस्कृति, परम्परा, रहनसहनलाई जोगाउन कैलालीमा संंग्रहालय स्थापना गर्ने योजना छ । वेहडाबाबा, देवरिया तालको विकास, तथा भादा र गदरियाको होमस्टेलाई अझ विकसित र प्रभावकारी बनाउन पहल गर्ने छु । नदी कटान, खानेपानी, शिक्षा, स्वास्थ्य, मुक्त कमैया, सुकम्वासीका समस्यामा म जानकार छु, ती विषयमा पनि विषेश पहल गर्नेछु ।

– तपाईको पक्षमा चुनावी माहोल कस्तो पाउनु भएको छ नि ?
मेरा पक्षमा तीनचार कारणले माहोल बनेको छ । मुख्यत: बाम गठबन्धन बनेको छ । त्यसैले कार्यकर्ता मात्रै होइन जनता पनि उत्साहित छन् । दोस्रो, जनता भन्छन्– कम्यूनिष्टको बहुमतको सरकार बनाउन एकपटक मौका दिऊ । तेस्रो, २०५१ सालमा र पछि पनि बहुमत नहुँदा पनि एमाले र माओवादीले राम्रा काम गरेका छन्, यिनैले राम्रो काम गर्छन् भनिरहेका छन् । चौथो, रमेश धामी, नेपालु चौधरी र नारदमुनी राना स्थानीय हुन् समस्या बुझेका छन्, यिनका घरघर गएर घच्घचाएर पनि काम गर्न सकिन्छ भन्ने मतदाताको सोच छ । धेरैले भन्छन्– हामी तपाईलाई भोट दिन्छौं ।

– विपक्षीले एमाले र माओवादी थारू विरोधी हुन भन्छन् नि ?
यो हावादारी कुरा हो । यसमा कुनै तुक छैन । कम्युनिष्ट भनेको वर्गीय पार्टी हुन् । जहाँसम्म थारू विरोधी भनेर प्रचार गरिदैछ, यो भन्नका लागि भनिएको कुरा हो । कैलालीकै सन्र्दभमा कुरा गरौं– एमालेले हिजो जिल्ला अध्यक्ष थारू समूदायको बनायो । उपाध्यक्ष पनि थारू समुदायै थिए । म उपसचिव छु । नारदमुनी धनगढी नगरको उपमेयर हुनुभयो । उहाँ संविधान सभा सदस्य पनि हुनुभयो । एमालको केन्द्रीय सदस्य हुनुहुन्छ । त्यस्तै, हनुमान चौधरी, लक्ष्मी चौधरी, चुनकुमारी चौधरी समानुपातिक सांसदको उम्मेदवार हुनुहुन्छ । क्षेत्र नम्बर १ को प्रदेश सभामा लालवीर चौधरी उम्मेदवार हुनुहुन्छ । लक्ष्मी चौधरीलाई हिजो राज्य पुन:संरचना आयोगमा सदस्य हुनुभयो । एमाले जिल्ला कमिटीमा हामी २२–२३ जना थारू हुन्छौं । स्थानीय चुनावमा ममता चौधरी घोडाघोडीका मेयर, गौरीगंगाका उपमेयर अञ्चला चौधरी सबै एमालेका नै हुन् । वास्तवमा एमालेले मात्रै राना र थारू लगायतका सवै जातजातिलाई सन्तुलित ढंगले अवसर दिएको छ ।

– स्थानीय चुनावमा मेयर पदका माओवादी उम्मेदवार कांग्रेस प्रवेश गर्दा जित्न गाह्रो हुन्न र ?
उनका बारेमा जनतासंग बुझ्नुस् आफै थाहा पाउनुहुन्छ । उनी लोभी, पापी र स्वार्थी भएकोले कांग्रेस गए भन्ने हाम्रो बुझाई छ । उनी गएपछि हाम्रा कार्यकर्तामा झन उत्साह आएको छ । उनी यतै बसेको भए हामीलाई क्षति हुन्थ्यो, गएकोले सजिलो भएको छ । हाम्रो जीतमा उनको बहिर्गमनले कुनै असर पर्दैन, बरु सहज हुन्छ ।

मंसिर १४ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार