१४ बैशाख २०८१, शुक्रबार

मतदाता नामावलीमा नाम दर्ता गराउन उत्साह



अछाम । अछाम जिल्लामा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता कार्यमा मतदाताहरूको उत्साह देखिएको छ ।
आगामी दिनमा हुने प्रदेश र संघीय निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा त्रुटि सच्यााउने कार्य सञ्चालन गरेपछि अछाममा नामावली दर्ता गर्नेको संख्या उत्साहजनक देखिएको हो ।
साउन १ गतेदेखि १५ गतेसम्मका लागि जिल्लाभरीका लागि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावलि दर्ता तथा त्रुटि सच्याउने कार्य गरिए पश्चात १४ दिनको अवधिमा एक हजार छ सय दुई जनाले नाम दर्ता गराएका छन् ।
तीमध्ये महिला आठ सय ५५ र पुरुष सात सय ४७ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयले सेवाग्राहीको हितलाई मध्यनजर गर्दै बिदाको दिन र शनिवारका दिन समेत नाम दर्ता गरिरहेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर एकेन्द्र बोगटीले जानकारी दिएका छन् ।
शनिवार मात्रै महिला ११ जना र पुरुष ६ जना गरी १७ जनाको नामावलिमा नाम दर्ता गरिएको उनले जानकारी दिए । निर्वाचन आयोगको निर्देशनअनुसार आगामी साउन १६ गतेदेखि ३२ गतेसम्म गाउँपालिका तथा नगरपालिकाको केन्द्रमा गई नाम संकलन गरिने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रामबहादुर माझीले बताए ।
टाढाका गाउँ तथा नगरपालिकाका लागि दर्ता कर्मचारीहरू शनिवार नै खटाईसकिएको र नजिकका ठाउँमा आइतबार पठाइएको कार्यालयले जनाएको छ । गाउँ तथा नगरपालिकाको केन्द्रमा नामावली संकलन गर्ने कार्यका लागि पनि सम्पूर्ण बन्दोवस्त मिलाइसकिएको जनाइएको छ ।
स्थानीय तहको निर्वाचनमा अछाम जिल्लामा ६७ हजार २ सय ९९ महिला, ६० हजार ४ सय ४१ पुरुष र २ जना तेस्रो लिङ्गी गरी एक लाख २७ हजार ७ सय ४२ मतदाता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार