२१ बैशाख २०८१, शुक्रबार

सर्वोच्चद्वारा मुख्यमन्त्री सोडारीको नियुक्ति बदर गर्न अस्वीकार



धनगढी/ नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्री दीर्घबहादुर सोडारीको नियुक्ति खारेज गरेर आफूलाई नियुक्त गर्न मागेको अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

उहाँले प्रदेश प्रमुखको निर्णय खारेज गरेर आफूलाई मु्ख्यमन्त्री नियुक्त गर्नका लागि अन्तरिम आदेश माग गरेका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालले प्रारम्भिक सुनुवाइपछि सो आदेश गरेका गरेका हुन ।

न्यायधिस ढकाल इजलाशले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्तिको सक्कल फाइल भने मागेको छ ।

उनको इजलाशले मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटमा पूर्ण सुनवाईका लागि वैशाख २३ मा पेशी निर्धारण गर्न आदेश गरेको छ ।

‘वैशाख २० गते दिउँसो ४ बजेभित्र दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेको कागजातको सक्कल फाइल साथै राखि लिखित जवाफ पेस गर्न समेत सर्वोच्चले आदेश दिएको छ ।

प्रदेश प्रमुख नजिर मियाँको आव्हान अनुसार वैशाख २ गते मुख्यमन्त्रीमा उन्मुक्तिकै दुई जना लक्ष्मणकिशोर र कैलाश चौधरीले दावेदारी प्रस्तुत गरेका थिए । तर प्रदेश प्रमुखले एउटै पार्टीका दुई जनाले मुख्यमन्त्रीमा दावेदारी गरेकोले निस्कर्षमा पुग्न नसकिएको भन्दै फेरि मुख्यमन्त्रीमा दावेदारी गर्न वैशाख ४ गते दुई दिनको समयसीमा दिएर आव्हान गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि गरिएको आव्हान अनुसार सोडारीले वैशाख ६ गते मुख्यमन्त्रीमा दावी गरेका थिए ।

लक्ष्मणकिशोरले आफ्नो पक्षमा बहुमत हुँदाहुँदै पनि आफूलाई नियुक्त नगरिएकोले मुख्यमन्त्री सोडारीलाई हटाउन माग गरेका थिए । उनी एकीकृत समाजवादीकै कारण बहुमतमा रहेका थिए तर समाजबादीले मुख्यमन्त्रीको दावेदारीका लागि दोस्रो आव्हान नहुँदै लक्ष्मणकिशोलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार