१४ बैशाख २०८१, शुक्रबार

माकुराले एक वर्षमै पृथ्वीका सारा मानिस खान सक्छ



माकुरा हाम्रो वरिपरि जताततै छन्। माकुराको भोक पनि अनौठो हुने गर्छ। केही ठूला प्रजातिका माकुराले छेपारो, चरा र सानातिना स्तनधारी जनावर पनि खाने गरेको पाइन्छ। माकुराको भोकको यस्तै प्रकृतिलाई देखेर दुई युरोपेली बायोलोजिस्टले हालै एक अनुसन्धान गरेका छन्ः पृथ्वीमा भएका सारा माकुराले एक वर्षमा खाने खानाको तौल कति होला?
मार्टिन नेफ्लर र क्लाउस बर्कहोफरले मार्च महिनामा ‘साइन्स अफ नेचर’ नामक जर्नलमा आफ्नो अनुमान प्रकाशित गरेका छन्। जसअनुसार पृथ्वीका सारा माकुराले एक वर्षमा ४० देखि ८० करोड टन शिकार गर्न सक्छन्। यसको अर्थ पृथ्वीमा माकुराले सारा मानिसले जति नै मासु खान सक्छन्। विश्वका सात अर्ब मानिसले वार्षिक ४० करोड टन माछा र मासु उपभोग गर्ने जनाइएको छ।
अझ एउटा अर्को अनौठो तुलना गरौँ, पृथ्वीमा भएका सम्पूर्ण वयष्क मानिसको तौल अनुमानित रुपमा २८.७ करोड टन हुन्छ। त्यसमा बच्चाबच्चीको तौल सात करोड टन जोडिदिँदा पनि त्यो वर्षभरीमा पृथ्वीका माकुराको खानाको तौलभन्दा कम हुन पुग्छ।
अर्को शब्दमा माकुराले पूरै मानिसहरुलाई खाइसक्दा पनि उनीहरु अघाएका हुँदैनन्।
यो निष्कर्षमा पुग्न यी वैज्ञानिकले विभिन्न अनुसन्धानको सहारा लिएका छन्। उदाहरणका लागि जमीनको एक वर्ग मिटर क्षेत्रफलमा कति माकुरा बस्छन् वा एक माकुराले एक वर्षमा कति खाना खानसक्छ। एक अनुसन्धानअनुसार औसत रुपमा पृथ्वीको एक वर्गमिटर क्षेत्रफलमा १३१ माकुरा बस्छन्।
नेफ्लर र बर्कहोफरका अनुसार पृथ्वीका सबै माकुरालाई एकै ठाउँमा राखेर जोख्ने हो भने तिनीहरुको तौल २.५ करोड टन हुन आउँछ। एउटा टाइटानिक जहाजको तौल ५२ हजार टन थियो। तसर्थ पृथ्वीका सबै माकुराको तौल ४७८ टाइटानिकबराबर हुन आउँछ।
जीव वैज्ञानिकहरुका अनुसार माकुराले सामान्यत एक दिनमा आफ्नो तौलको १० प्रतिशत बराबर तौलको खाना खाने गर्छ। यसको अर्थ नौ सय किलो माकुराले एक दिनमा ९० किलोको मानिसलाई खाइसक्छ।
माकुराको भोक यति डरलाग्दो भए पनि यसले मानिसलाई फाइदा नै पुर्‍याएको छ। उनीहरुको भोककै कारण झिंगा, लामखुट्टे, किराफट्यांग्रा, आदिको संख्या अनियन्त्रित भएको छैन।

वाशिंगटन पोस्ट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार