१४ बैशाख २०८१, शुक्रबार

धनगढी उपमहानगरपालिका मेयरमा काँग्रेसबाट वड (अन्तर्वार्तासहित)



धनगढी । नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिकाको मेयर (प्रमुख) मा नृपबहादुर वडलाई उम्मेदवार चयन गरेको छ । वड नेपाली काँग्रेसका धनगढी उपमहानगरपालिकाका सभापति हुन् ।
नेपाली काँग्रेसको केन्द्रीय पदाधिकारीहरूको शनिबारको बैठकले वडलाई धनगढी उपमहानगरपालिकाको मेयर पदको उम्मेदवार घोषणा गरेको जनाइएको छ । उपमेयरको उम्मेदवारको भने आगामी २५ गते मात्र टुंगो लाग्ने काँग्रेसका एकजना केन्द्रीय सदस्यले बताए ।
२८ वर्षदेखि अनवरत रूपमा राजनीतिमा सक्रिय ४५ वर्षीय वड २०४६ सालको जनआन्दोलनसंगै नेपाली काँग्रेसमा आवद्ध भएका थिए ।
२०४९ सालमा काँग्रेसका क्रियाशील सदस्य बनेका उनी पार्टीको धनगढी नगर सदस्य र सचिव हुँदै दोस्रो कार्यकालका लागि निर्विरोध नगर सभापति रहेका छन् ।
२०६३/०६४ सालमा धनगढी नगर विकास समितिको अध्यक्ष समेत रहेका सरल स्वभावका वड ऐश्वर्य विद्या निकेतन व्यवस्थापन समितिका अध्यक्षका साथै विभिन्न शैक्षिक तथा सामाजिक संघसंस्थामा समेत आवद्ध रहेका छन् ।

 

जिम्मेवारी थपिएको महसुस गरे– नगरप्रमुखका उम्मेदवार वड

लामो कसरत र छलफलपछि अन्तत: नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिकाको मेयर पदमा नगर सभापति नृपबहादुर वडलाई टिकट दिएको छ । शनिबार काँग्रेसको केन्द्रीय पदाधिकारीको बैठकले उनलाई धनगढी उपमहानगरपालिकाको मेयर पदको उम्मेदवार घोषणा गर्दा उनी राजधानीमा थिए । उम्मेदवारीको घोषणा भए लगत्तै ई–अनुमोदनले टेलिफोनमार्फत उनलाई सोध्यो– ‘धनगढी उपमहानगरपालिकाको मेयर पदको टिकट पाउनु भयो, कस्तो महसुस भइरहेको छ ?’
उनले सरल ढंगबाट जवाफ दिए– खुसी लागेको छ, यो मानवीय स्वभाव पनि हो । तर, यसभन्दा धेरैबढी मैले एकाएक धेरै जिम्मेवारी थपिएको महसुस गरेको छु ।
कस्तो जिम्मेवारी ? ई–अनुमोदनको अर्को प्रश्नमा उनले भने– ‘हिजोसम्म पार्टीका धेरै साथीहरू यो (टिकट) को दौडमा थियौं । पार्टीले मलाई यो अभिभारा सुम्पेको छ । र, मैले पार्टीले सुम्पेको यो अभिभारा पुरा गर्नुपर्ने छ । टिकट पाउनु भएका वा कुनै कारणले पाउन नसक्नु भएका सबै साथीहरूलाई एकजुट बनाएर तथा सबैबीच अटुट विश्वासको वातावारण बनाएर उपमहानगरपालिकामा नेपाली काँग्रेसलाई विजयी गराउनुपर्ने प्रमुख अभिभारा छ ।’
विजय हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ त ? ई–अनुमोदनको अर्को प्रश्न खस्न नपाउँदै उनले जवाफ दिए– धनगढी उपमहानगरपालिकामा नेपाली काँग्रेसको अभूतपूर्व विजय हुनेमा हामी मात्रै होइनौ, आम नगरबासीहरू पनि विश्वस्त हुनुहुन्छ ।
राजधानीबाट शनिबार नै साथीहरूसंगै धनगढी फर्किने क्रममा रहेका उनी निकै हतारमा रहेको महसुस हुन्थ्यो । ई–अनुमोदनले पुन: प्रश्न गर्‍यो– अरु पार्टीले एक महिनाअघि नै उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा छन्, तपाईंहरूको बल्ल टुंगो लाग्दैछ, जित्छौं भन्ने आधार के त ?
‘उम्मेदवारी घोषणा एउटा पक्ष हो’ उनको स्वरमा दृढता सुनिन्थ्यो । भने– हामी सबै उम्मेदवारका आकांक्षी, पार्टीका नेताहरू, सांसद सबैले दुई तीन चरणमा धनगढी उपमहानगरपालिकाको सबै वडा टोलमा घरदैलो, कार्यकर्ता भेला, चुनावी सभा गरिसकेका छौं । पार्टीका वडा तथा टोल समितिका साथीहरू सबै दिनरात पार्टीको पक्षमा प्रचारप्रसारमा हुनुहुन्छ । म आफैं उपमहानगरपालिकाका प्रत्येक टोलवस्तीमा पुगेको छु । वर्षौदेखि म आम नगरबासीको माझमा रहेको छु । उहाँहरूको हरेक दु:खकष्ट तथा समस्यामा म सधैं उहाँहरूको साथमा छु ।
फेरि धनगढी उपमहानगरपालिका नेपाली काँग्रेसको मजबुत गढ पनि हो । हरेक चुनावमा धनगढीका आदरणीय नगरबासीहरूले नेपाली काँग्रेसलाई भोट दिएर लोकतन्त्र, दीगो शान्ति र आर्थिक समृद्धिका पक्षमा आफ्नो चाहना र अभिमत प्रकट गर्नु भएको छ । यसपटक पनि नगरबासी दाजुभाइ दिदीबहिनीहरूले नेपाली काँग्रेसलाई अत्यधिक मतका साथ विजयी गराउनु हुनेछ भन्ने पूर्ण विश्वास छ ।

 

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार