१४ बैशाख २०८१, शुक्रबार

सांस्कृतिक सम्मिलनः “यहीको घर हरेर जन्मघरको तिर्सना मेटाउँछु”



धनगढी । आफू जन्मेको अछामको घर जस्तै घर देख्दा कैलाली जानकी गाउँपालिका वडा नम्बर ९, अमरावतीका ७६ वर्षीय रविलाल थापा मख्ख परे ।
“हाम्रा पालाका घरहरू हराएर जान्छन् कि भन्ने चिन्ता लाग्छ, यहाँ तराई, कैलालीमा पहाड (अछाम) कै परम्परागत जस्तै घर देख्दा निकै खुसी लाग्यो” बृद्ध रविलालले भने– सानै उमेरमा कैलाली झरे । पटपटक पहाड जान पनि सकिदैन । अब यही घर हेरेर आफू जन्मे हुर्केको घरको तिर्सना मेटाउछु ।
बृद्ध रविवाल थापा मात्रै होइन अवरावतीकै ५१ वर्षीया सविना चौधरी पनि आफु हुर्के बढेको जस्तै घर देख्दा निकै खुसी भइन् । रविलाल र सविना जानकी गाउँपालिका वडा नम्बर ९, अमरावतीमा रहेको नेपाल जातीय संग्रहालयमा निर्माण भएका थारु र पहाडी समुुदायका परम्परागत घर हेरेर मख्ख भएका थिए ।जातीय संग्रहालयका अध्यक्ष तथा पूर्व सांसद गरिमा शाहका अनुसार सो संग्राहलयमा सुदूरपश्चिम प्रदेशका विभिन्न समुदायका परम्परागत तथा मौलिक घर, संस्कृति, परम्परा, भेषभूषा तथा रहनसहनका सामग्री राखिएका छन् ।
उनले भनिन्– हाम्रा पुर्खाले प्रयोग गर्र्दै आएका कतिपय चीजविज हराउँदै जान थालेपछि तिनको संरक्षण गर्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको छ । संग्रहालयमा अहिले थारु र पहाडी समूदायका परम्परागत घर तथा मौलिक संस्कृति झल्काउने सामग्री राखेका छौ । अब क्रमिक रुपमा मगर, राजी लगायतका जातजातिका घरहरू बनाउछौ । उनले संग्रहालयमा सुदूरपश्चिम प्रदेशका पर्यटकीय र धार्मिक क्षेत्रलाई पनि समेटिने बताइन् ।
२०७१ सालमा शुरु भएको संग्रहालयले शनिबार र आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितिमा विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरू प्रदर्शन गर्दै सांस्कृतिक सम्मिलन सञ्चालन गरेको छ ।
सम्मिलनको उद्घाटन गरेका प्रदेशका मुख्यमन्त्री भट्टले संग्रहालयको उद्देश्य निकै राम्रो रहेको र सुदूरपश्चिमको झल्को देखिएको बताए ।मुख्यमन्त्रीसंगै रहेका प्रदेशका पर्यटन उद्योग तथा वन वातावरण राज्मन्त्री प्रकाशबहादुर रावलले जातीय संग्रहालयलाई प्रदेश सरकारको गौरवको योजनाका रुपमा अघि बढाउने बताए ।
दुई बिघा क्षेत्रफलमा रहेको संग्रहालय कर्णाली पुल, टीकापुर पार्क, घोडाघोडी ताल हेर्न आउने पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य बन्ने पूर्व सभासद सुकदैया चौधरीको विश्वास छ ।
जातीय संग्रहालय कर्णाली पुलबाट छ किलोमिटर दक्षिणमा रहेको छ । संग्रहालय बनाउन नेपाल पर्यटन वोर्ड, पुरात्व विभाग लगायतका सरकारी क्षेत्रबाट समेत सहयोग प्राप्त भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार