१९ बैशाख २०८१, बुधबार

प्रदेश सरकारद्वारा प्रहरीका लागि गाडी खरिद प्रक्रिया शुरु



धनगढी । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरी निकायका लागि गाडि खरिद गर्ने भएको छ । प्रदेशको शान्ति, सुरक्षालाई चुस्तदुरुस्त बनाउन प्रहरी कार्यालयलाई सवारी साधन उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकार मातहात प्रहरी निकाय नआउँदै मन्त्रालयले ११ वटा गाडि खरिद गर्न टेण्डर आह्वान गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालू आर्थिक वर्ष २०७५/७६ को नीति, कार्यक्रम तथा बजेटमा गाडि खरिद शिर्षकमा तीन करोड ५७ लाख रकम विनियोजन गरेको थियो ।
मन्त्रालयले पिकअप नौ, एक सय २० एचपी इन्जीन पावरको र एक सय एचपी इन्जीन पावरको स्पोर्ट युटिलिटी गाडि एक/एक गरि ११ वटा गाडि खरिद गर्नका लागि चैत १४ गते बोलपत्र आह्वानको सूचना जारी गरेको थियो ।
मन्त्रालयको मन्त्रीस्तरिय निर्णयले प्रदेशका नौ वटै जिल्लामा रहेका प्रदेश प्रहरी इकाईलाई गाडी हस्तान्तरण गर्ने निर्णय गरिसकेको जनाइएको छ ।
प्रदेश मातहात प्रहरी निकाय आइनसकेको अवस्थामै मन्त्रालयले गाडि खरिद गर्न लागेकोमा सरोकारवालाहरुले आशंका व्यक्त गरेका छन् । ‘गाडि खरिद त गर्न पाईन्छ, तर कुन उद्देश्यले खरिद हुँदै छ भन्ने हो’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खडकाले भने– ‘यो कमिशन खाने सोच हो वा प्रदेशमा सुरक्षा, व्यवस्थालाई थप मजबुत बनाउन हो ?’
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लेखा अधिकृत नारायणदत्त मिश्रले ‘मन्त्रालयले गाडि खरिद गरेर प्रदेशका नौ वटै जिल्लामा हस्तान्तरण गर्ने’ बताए । उनले मन्त्रालयले जिल्लालाई हस्तान्तरण गर्ने र जिल्ला प्रहरी कार्यालयले आवश्यक प्रहरी इकाईलाई प्रदान गर्ने बताए । ‘अहिले बोलपत्र आह्वान गरिएको छ । कतिको टेण्डर परेको छ भन्ने थाहा छैन’ उनले भने– पछि मूल्यांकन कमिटिले यसलाई खारेज पनि गर्न सक्छ ।
मन्त्रालयले यसअघि मन्त्रालयका लागि मोटरसाईकल खरिदका लागि बोलपत्र आह्वान गरेपछि मूल्यांकन कमिटिले खारेज गरेको थियो । ‘मन्त्रालयका लागि १८ लाख रुपैया बराबरको आठ वटा मोटरसाईकल खरिद गर्न बोलपत्र आह्वान गरिएको थियो’ उनले भने–मूल्यांकन कमिटिमा जाँदा खारेज भएको थियो । उनका अनुसार चार जनाको टेण्डर परेकोमा तीन जनको स्वीकृत भएका थिए । मूल्यांकन कमिटिमा जाँदा खारेज भएपछि पुनः बोलपत्र आह्वान गर्ने प्रक्रिया रहेको छ ।
मन्त्रालयका सचिव भरतकुमार बुढाथोकीले भने– ‘भोलि प्रहरी प्रदेशमै आउने त हो भनेर गाडी खरिद गर्न लागेको हो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार