१४ बैशाख २०८१, शुक्रबार

अनुमति नलिएरै अस्पतालको सेवा शुरु



  • पाइलैपिच्छे एकै प्रकृतिका स्वास्थ्य संस्था

धनगढी । अनुमति नै नलिएर धनगढीमा स्थापना भएको सारथी अस्पतालले बिहीबारदेखि सेवा दिन शुरु गरेको छ ।
सारथी अस्पतालले अनुमतिको लागि धनगढी उपमहानगरपालिका, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयमा निवेदन दिएको भए पनि अहिलेसम्म सञ्चालन अनुमति पाएको छैन ।
नेपाल खाद्य संस्थानको सेती अञ्चल कार्यालयको गोदाम भाडामा लिएर सेवा शुरु गरेको अस्पतालको औपचारिक रुपमा उद्घाटन भने गरिएको छैन । अस्पतालका प्रबन्ध निर्देशक वेदप्रकाश जोशीले भने– ‘हामी केही दिनमै अस्पतालको औपचारिक रुपमा उद्घाटन गर्दछौं । सेवा दिने काम भने शुरु गरिसकेका छौं ।’
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका २०७३ अनुसार “अनुमति बिना कुनै पनि स्वास्थ्य संस्थाले सेवा प्रदान गराउन नपाउने” व्यवस्था रहेको छ । निर्देशिकाको दफा ३ (१ (क) मा ‘अनुमति नलिई स्वास्थ्य सेवा सञ्चालन गरेको पाईएमा सो कार्य रोक्न तथा त्यस्तो स्वास्थ्य संस्थालाई आवश्यक कारबाहीका लागि गृहमन्त्रालयमार्फत वा सोझै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा लेखी पठाइने छ र त्यस्ता संस्थाका सञ्चालकलाई भविष्यमा स्वास्थ्य सेवा सञ्चालन अनुमति प्रदान नगर्ने गरि अभिलेख समेत राखिने छ’ भनी उल्लेख छ ।
बिहीबारदेखि अस्पतालले हेमेटालोजीसम्बन्धी विशेष सेवासहित आफ्ना सेवाहरु शुरु गरेको बताएको छ । अस्पतालमा हेमेटालोजी विशेषज्ञ डाक्टर विशेष पौडेलले बिहीबार उपचार सेवा दिएका थिए । अस्पतालले यसअघिदेखि नै नाम दर्ता गराउन केही सञ्चार माध्यममार्फत प्रचारप्रसार गरेको थियो ।
अस्पतालमा नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर दिपेश शाक्य र फोक्सोसम्बन्धी विशेषज्ञ डाक्टर विदेश बिष्टले सेवा प्रदान गर्ने सो सूचनामार्फत जानकारी गराइएको थियो । त्यस्तै, अस्पतालले २४ सैं घण्टा फिजिसियन सेवा, सर्जन विशेषज्ञ डाक्टरबाट चेकजाँच र अप्रेसन, गाइनो विशेष डाक्टरबाट अप्रेसन लगायतका सेवा पनि प्रदान गर्ने जनाइएको छ ।
धनगढीस्थित नेपाल खाद्य संस्थानको गोदाम मासिक ६५ हजार रुपैयाँमा सारथी अस्पताल प्रालिलाई भाडामा दिइएको छ । सो अस्पतालमा वेदप्रकाश जोशीसहित पाँच जनाको लगानी रहेको बताइएको छ । प्रबन्ध निर्देशक जोशीले अस्पतालमा पाँच करोड रुपैयाँ बढी लगानी रहेको उनले बताए ।

१५ शैय्यासहितको सो अस्पतालमा थारु समुदायमा देखिने सिकलसेल एनिमियाको उपचारसहितको कृत्रिम गर्भाधान, क्यान्सर लगायतको विशेष उपचार सेवाको सुविधा रहने अस्पतालका प्रबन्ध निर्देशक जोशीले बताए ।
प्रबन्ध निर्देशक जोशीले अस्पतालमा आवश्यक कक्षका लागि गोदाममा ‘पार्टेसन’ गरि इर्मेजेन्सी कक्ष, रिसेप्सन, प्रयोगशाला, अप्रेसन कक्ष, एक्सरे मेसिन लगायतका व्यवस्था गरेको छ ।
प्रबन्ध निर्देशक जोशीले उपमहानगरपालिकाबाट अनुमति लिएर उपचार सेवा शुरु गरेको बताए । ‘हामीले धनगढी उपमहानगरपालिकाबाट अनुमति लिएर नै सेवा शुरु गरेका हौं’ प्रबन्ध निर्देशक जोशीले अनुमोदनसंग भने– ‘तपाई यसबारे धनगढी उपमहानगरपालिकाका नगर प्रमुखसंग बुझ्न सक्नुहुन्छ ।’
यसबारे धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने– ‘अहिले उपमहानगरपालिकामा दुई वटा अस्पताल सञ्चालनका लागि आवेदन परेका छन्, तर अहिलेसम्म स्पष्ट ऐन कानुन नबनेकाले अनुमति दिन सकिएको छैन ।’
धनगढी उपमहानगरपालिका एक उच्चाधिकारीले ‘धनगढीमा अस्पताल, होम एलोपेथिक, होलिस्टिक लगायतकाले अनुमति नलिएर सेवा प्रदान गरिरहेको’ दाबी गरे । उनले भने– तर त्यसरी सञ्चालनमा रहेका स्वास्थ्य संस्था कति छन् भन्ने एकिन तथ्यांक प्राप्त हुनसकेको छैन ।
उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित होम एलोपेथिक र धनगढी उपमहानगरपालिकास्थित होलिस्टिकले उपमहानगरपालिकाबाट अनुमति नलिएको बताए । “अन्यत्रबाट अनुमति लिएको भए हामीलाई जानकारी भएन” उनले भने ।

पाइलैपिच्छे एकै प्रकृतिका स्वास्थ्य संस्था

सेती अञ्चल अस्पतालकै सिमानासंग जोडिएको खाद्य संस्थानको गोदाम छ । सो गोदामलाई अहिले खाद्य संस्थानले निजी क्षेत्रको सारथी अस्पताललाई भाडामा दिएको छ ।
सेती अञ्चल अस्पताल सामुन्ने कैलाली अस्पताल प्रालि, सिटी पोलिटेक्निक, र एक सय मिटरको दूरीमा नोभा अस्पताल रहेको छ ।
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० मा ‘एकै प्रकृतिका स्वास्थ्य संस्थाहरु एक किलोमिटरको सिमानाभित्र राख्न नपाइने’ व्यवस्था रहेको छ ।
नोभा, कैलाली र सिटी पोलिक्लिनिकले प्रदान गर्दै आएका सेवामा कुनै पनि भिन्नता नरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । ‘सबैले आएका विरामीलाई चेकजाँच, भिडियो एक्सरे, एक्सरे लगायतका सेवा नै दिएका छन्’ एक स्वास्थ्यकर्मीले नाम नखोल्ने सर्तमा भने– गम्भिर प्रकारका बिरामी आएमा भारतका विभिन्न अस्पताल वा कोहलपुर रिफर गर्ने गरिएको छ ।
त्यस्तै, एकै प्रकारका क्लिनिकहरूका लागि पनि निश्चित दूरी कायम गरिए पनि अधिकांसले मापदण्ड पुरा गरेका छैनन् ।

यो पनि पढनुहोस– खाद्य संस्थानको गाेदाममा निजी अस्पताल

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार