१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिममा कुष्ठरोग निवारण भएन, रोगीको संख्या बढ्दै



धनगढी । नेपालमा कुष्ठरोग निवारण भएको घोषणा १० वर्ष पुगेपनि सुदूरपश्चिम प्रदेशमा अझै निवारण भएको छैन ।
सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा अझै पनि प्रति दश हजार जनसंख्यामा १.०५ जनाको दरमा कुष्ठरोगका विरामी भेटिएका हुन् । सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले कैलाली, कञ्चनपुर र अछाम जिल्लामा कुष्ठ रोगी निवारण नभएको जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा कुष्ठ रोगीको संख्या बढ्दो छ । सुदूरपश्चिममा आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ प्रति हजार जनसंख्यामा क्रमशः ०.७ र ०.६७ थियो भने गतवर्ष बढेर दश हजार जनसंख्यामा १.०५ जना कुष्ठ रोगी भएका हुन् ।
तथ्यांक अनुसार कैलालीमा आर्थिक वर्ष २०७४/०७५ मा प्रति १० हजारमा १.७८ जना कुष्ठ रोगी थिए भने आर्थिक वर्ष २०७२/७३ र २०७३/७४ मा प्रति १० हजारमा क्रमशः ०.९ र १.११ जना कुष्ठ रोगी थिए ।
त्यस्तै, कञ्चनपुरमा आर्थिक वर्ष २०७२/७३ देखि २०७४/०७५ प्रति हजारमा क्रमशः ०.८, ०.९४ र १.४४ जना कुष्ठरोगी थिए । अछाममा सोही अबधिमा क्रमशः १.३, ०.८ र १.१८ कुष्ठरोगी थिए ।
स्वास्थ्य निर्देशनालयले सुदूरपश्चिममा चालु आर्थिक वर्षको ६ महिनामा १३९ जना कृष्ठरोगी रहेको जनाएको छ । स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले यस वर्ष ४० जना नयाँ विरामी भेटिएको बताए । उनले आर्थिक वर्ष २०७२/७३ देखि २०७४/०७५ सम्म क्रमशः २०८, २०१ र २९८ जना नयाँ विरामी भेटिएको बताए ।
नेपाल सरकारले २०६६ माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरेको भएपनि १२ वटा जिल्लामा यो रोग निवारण भएको थिएन । तर निवारण नभएको जिल्ला बढेर हाल १८ पुगेको छ ।
विगतमा कुष्ठरोगीलाई अपहेलना गर्ने र उनीहरुलाई गाउँ निकाला गर्ने गरेको कारण पनि मानिसहरु उपचार गराउन नआउने गर्नाले कुष्ठरोगको प्रकोप बढिरहेको छ । कुष्ठरोग उपचार गरेमा निको हुन्छ भन्ने चेतना नभएका कारण विरामीहरु स्वास्थ्य संस्थामा नआउने गरेकोले स्वास्थ्यकर्मीले आफै पत्ता लगाएर उपचार गर्ने गरेको निर्देशक डा. अवस्थीले बताए ।
पुरानो मान्यतालाई छोडेर शरिरमा जुनसुकै रंगकाे नदुख्ने, नचिलाउने तथा लाटो दाग देखिएमा तुरुन्त अस्पताल गई उपचार गराउनुपर्ने निर्देशक डा. अवस्थीले बताए । उनले शुरुवाती चरणमा उपचार गराएमा शरिरमा हुने क्षति रोकिने बताए । ढिलो गरी उपचार गराउँदा रोग निको भएपछि शरिरमा भएको क्षति नहट्ने उनले बताए । कुष्ठरोगको उपचार गराउन स्वास्थ्य संस्थामा ढिलो गरी पुगेका ३० हजार भन्दा बढि नेपालीहरु कुष्ठरोगका कारण अपांग भएका छन् ।
देशभर कुष्ठरोगीको संख्या बढ्दै भएपछि सरकारले सन् २०२० सम्म देशका सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ । तर देशको संरचना परिवर्तनसंगै स्वास्थ्य क्षेत्रको संरचना बदलिएको कारण काम गर्न गाह्रो भएको स्वास्थ्य निर्देशक अवस्थीले बताए ।
नेपाल सरकारको कुष्ठरोग निवारण नीति २०१६ ले बच्चामा हुने कुष्ठरोग र कुष्ठरोगका कारण हुने अपांगता शुन्यमा झार्ने र कुष्ठरोगको दर प्रतिलाखमा १ मा झार्ने लक्ष्य लिएको छ ।

कुष्ठरोग दिवस मनाइदै

धनगढी । ‘कुष्ठरोग कार्यक्रमको गन्तव्य, गलत धारणा र वभेदको अन्त्य’ भन्ने मुल नाराका साथ सुदूरपश्चिममा पनि आइतबार (भोलि) विभिन्न कार्यक्रम आयोजना गरी सो दिवस मनाइदै छ ।
६६ औं विश्व कुष्ठरोग दिवसको अवसरमा शनिबार धनगढीमा पत्रकारहरुसंग अन्तरक्रिया आयोजना गरी निर्देशनालयले नीति अनुसार कुष्ठरोगीको परिवार र छिमेकीलाई समेत औषधी उपचार गरिन थालिएको जनाएको छ ।
कुष्ठरोगको उपचार सरकारले निःशुल्क गर्नुका साथै नियमित औषधि सेवन गरी निको भएका विरामीलाई एक हजार रुपैयाँ यातायात खर्च दिने गरेको छ । साथै अप्रेसन गर्नुपर्ने अवस्थामा निःशुल्क अप्रेसनका साथै थप सात हजार रुपैयाँ सहयोग दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार