२३ बैशाख २०८१, आईतवार

वसन्ता कोरिडोर थारू होमस्टे सञ्चालनमा



कैलारी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७, छटकपुर वसन्ता गाउँमा ‘वसन्ता कोरीडोर थारू होमस्टे’ सञ्चालनमा आएको छ ।
ग्रामीण क्षेत्रमा पर्यटन विकास र अन्तर्राष्ट्रिय महत्त्वको वसन्ता जैविकमार्गको संरक्षण गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको जनाइएको छ । अढाई सय घरधुरी रहेको सो गाउँमा हाल २५ घरमा होमस्टे रहेको गाउँका अगुवा लिखराम चौधरीले जानकारी दिए ।
बुधबार एक कार्यक्रमबीच प्रदेश सांसद वीरमान चौधरीले वसन्ता कोरीडोर थारू होमस्टेको उद्घाटन गरे । सो अवसरमा उनले वसन्ताका कोरीडोर अन्तर्राष्ट्रिय रूपमा परिचित क्षेत्र रहेकाले होमस्टे आकर्षणको केन्द्रबिन्दु बन्न सक्ने बताए ।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले वसन्ता कोरीडोर होमस्टे प्राकृतिक र साँस्कृतिक सम्पदाले महत्त्वपूर्ण रहेका कारण अनुसन्धानकर्ताको लागि पनि उपयुक्त गन्तव्य बन्न सक्ने बताए ।
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले गाउँपालिकाले ग्रामीण क्षेत्रमा पर्यटन विकासका लागि नीतिगत व्यवस्था गरेकाले होमस्टेको विकासका पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उद्घाटन कार्यक्रममा अधिवक्ता डाक्टर जानकी तुलाधर, भादा थारू होमस्टे गाउँका अध्यक्ष लक्ष्मीनारायण चौधरी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा थारू सखिया र झुम्रा नाच देखाइएको थियो ।
वसन्ता कोरीडोर थारू होमस्टेमा वसन्ता जैविकमार्ग, तालतलैयाको अवलोकन तथा परम्परागत थारू खानपानको व्यवस्था रहेको होमस्टे सञ्चालक समितिका जालुराम चौधरीले जानकारी दिए ।
वसन्ता कोरीडोर थारू होमस्टे गाउँ कैलालीको धनगढीबाट करिब ४० किलोमिटरको दूरीमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार