१४ बैशाख २०८१, शुक्रबार

एसपीएलाई राष्ट्रिय स्तरको शैक्षिक संस्था बनाउछौं



सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) मा यतिखेर तीन वटा तहमा अध्यापन भइरहेको छ । उच्च माध्यमिक तह, स्नातक र स्नातकोत्तर तहको पढाई भइरहेको एकेडमी (क्याम्पस) ले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने जनशक्तिलाई दृष्टिगत गरी नयाँ र समयसापेक्ष विषयहरूको अध्यापन गराइरहेको छ । यस क्रममा एसपीएले यसै शैक्षिक सत्रदेखि व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्ट र इन्फरमेशन म्यानेजमेन्ट विषयमा स्नातक तहको पढाई सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयबाट अनुमति पाएको छ । अनुमति पाएसँगै क्याम्पसले विद्यार्थीहरूलाई प्रवेश परीक्षामा सहभागी हुन सूचना जारी गरिसकेको छ । होटल म्यानेजमेन्ट तथा इन्फरमेशन म्यानेजमेन्ट विषयमा स्नातक तहको पढाई शुरु गर्ने तयारी गरिरहेका एसपीए व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रबहादुर शाहीसँग अनुमोदन दैनिकले गरेको कुराकानीको सम्पादित अंश :

योगेन्द्रबहादुर शाही
अध्यक्ष
सुदूरपश्चिमाञ्चल एकेडेमी, धनगढी

होटल म्यानेजमेन्ट तथा इन्फरमेशन म्यानेजमेन्ट विषयमा स्नातक तहको पढाई शुरु गर्दै हुनुहुन्छ, शिक्षक जनशक्ति चाँही कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
हामीले २०५६ सालमा यो सुदूरपश्चिमाञ्चल एकेडेमी स्थापना गर्दा कैलालीसहित सुदूरपश्चिमकै शैक्षिक अवस्था कमजोर थियो । हामीले यस क्षेत्रको शिक्षामा केही राम्रो र उपलब्धिमूलक काम गर्नुपर्छ भन्ने मान्यता बोकेर यो क्याम्पस स्थापना गर्‍यौं । पढाई सुचारु बनाउन त्यतिखेर पनि हामीले जनशक्ति व्यवस्थापन गरेका थियौं र उत्कृष्ट नतिजा दिएका थियौं । अहिले समयको माग अनुसार हामीले विभिन्न नयाँ विषयमा अध्यापन गराउँदै आएका छौं । अहिलेको विश्व बजारलाई हेरेर हामीले यी दुई विषयको पढाई शुरु गर्दैछौं । यसका लागि हामीले नेपालकै विभिन्न कलेजबाट उत्पादित तथा विदेशमा पढाई गरेका जनशक्ति (शिक्षक) ल्याएका छौं ।

कलेजको हालको अवस्था कस्तो छ ?
हाल हामीले कक्षा ११ र १२ मा चार वटा संकायमा अध्यापन गराइरहेका छौं । स्नातक तहमा तीन वटा संकायमा तथा स्नातकोत्तर तहमा दुई वटा संकायमा अध्यापन गराइरहेका छौं । हामीले उत्कृष्ट नतिजा दिएवापत विभिन्न पुरस्कार पनि पाएका छौं । हामीले जुनसुकै प्राविधिक विषय पढ्नका लागि धनगढीबाहिर जानुनपर्ने अवस्था निर्माण गर्न खोजेका छौं । हामी त्यो दिशामा अघि बढिरहेका छौं । क्रमश: नयाँ विषयहरू थप्दै गएका छौं । हामी सुदूरपश्चिमाञ्चल एकेडेमीलाई राष्ट्रिय स्तरको शैक्षिक संस्थाका रूपमा विकास गर्ने योजनासहित काम गरिरहेका छौं ।

होटल म्यानेजमेन्ट पढेका जनशक्तिहरूलाई प्रदेश नम्बर सातको सानो बजारले रोजगारी दिनसक्छ र ?
प्रदेश सातका धनगढीसहित विभिन्न स्थानमा ठूल्ठूलो लगानीमा आधुनिक सेवा सुविधासहितका होटलहरू खुल्ने क्रम जारी छ । खुलेका सबै होटलले दक्ष जनशक्ति नपाएको स्थिति रहेको हाम्रो अध्ययनले देखाएको छ । तर, वार्षिक ४० जना होटल म्यानेजमेन्टमा स्नातक (बीएचएम) उत्पादन हुँदा स्थानीय बजारले धान्न सक्दैन । त्यसैले हामीले बीएचएमलाई प्रवेश गराउँदा स्थानीय बजारसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार पनि हेरेका छौं । अब यो विषयको पढाईका लागि काठमाडौं र विदेश नै जानुपर्छ भन्ने अवस्था रहिरहनु हुँदैन । धनगढीमै पढेर रोजगारीका लागि राजधानी वा विदेश जानसक्ने अवस्था बन्नु पर्छ । हामी यहाँ त्यो स्तरको शिक्षा दिनेछौं । विद्यार्थीहरूलाई पढाईकै सन्दर्भमा पनि बिहान कक्षा सञ्चालन गरेर दिउँसोको समयमा धनगढीका विभिन्न तारे होटलमा व्यवहारिक ज्ञान दिने व्यवस्था मिलाउदैछौं । त्यसले उनीहरूलाई सैद्धान्तिक ज्ञानका साथै सीप र अनुभव पनि दिने छ । यसले उनीहरूको रोजगारीको अवसर पनि सिर्जना गर्न मद्दत गर्ने छ । हामीले हामीकहाँ बीएचएम पढ्ने विद्यार्थीलाई भारत, चीन, मलेसिया, दुबई, थाइल्याण्ड लगायतका मुलुकमा इन्टर्नसीपका लागि पठाउने व्यवस्था पनि गरिरहेका छौं ।

  • समयको माग अनुसार विभिन्न नयाँ विषयमा अध्यापन गराइरहेका छौं ।
  • प्राविधिक विषय पढ्नका लागि धनगढी बाहिर जानुनपर्ने अवस्था निर्माण गर्छौ ।
  • एसपीएमा बीएचएम पढ्ने विद्यार्थीलाई भारत, चीन, मलेसिया, दुबई, थाइल्याण्ड लगायतका मुलुकमा इन्टर्नसीपमा पठाइनेछ ।
  • सूचना व्यवस्थापनमा स्नातक जनशक्तिको जहातही आवश्यकता रहेको अवस्था छ ।
  • अहिलेसम्मकै सबैभन्दा सस्तो पढाई शुल्कमा बीएचएम र आइएम पढाउँछौं ।

एसपीएले सूचना व्यवस्थापन (इन्फरमेशन म्यानेजमेन्ट) विषयमा पनि स्नातक तहको पढाई शुरु गरेको छ । यो विषयका जनशक्तिका लागि बजार छ र ?
हाम्रो प्रदेशमा ८८ वटा स्थानीय तह छन् । सबै स्थानीय तहले सूचना प्रविधि अधिकृतका लागि विज्ञापन गरे, तर कसैले पनि पाएनन् । राजधानीमा उत्पादन भएको जनशक्ति उतै व्यस्त छ । अर्कोतर्फ अहिले हरेक संघसंस्था, व्यापारिक प्रतिष्ठान, सरकारी निकाय सूचना प्रविधिमैत्री बन्दै गएका छन् । त्यसकारण सूचना व्यवस्थापन पढेका जनशक्तिको जहातही आवश्यकता रहेको अवस्था छ । सूचना प्रविधि पढाउने अरू शैक्षिक संस्था पनि छन्, तर सूचना प्रविधिका साथै व्यवस्थापन पनि पढाउँछौं । त्यसैले हाम्रो कलेजले उत्पादन गरेको जनशक्तिले सूचना प्रविधिको क्षेत्रमा सजिलै राम्रो रोजगारी पाउन सक्छ । आफू काम गरेर अरू धेरै प्राविधिकलाई काम दिन सक्छन् । तपाईले भारतका विभिन्न शहरहरू हेर्नुभयो भने थाहा पाउनुहुन्छ कि त्यहाँ सूचना प्रविधि पढेका युवाहरू आफै विभिन्न सफ्टवेयरहरू बनाएर विदेशतिर बिक्री गरे मनग्य आम्दानी गरिरहेका छन् । हामी पनि त्यस्तै जनशक्ति तयार गर्ने तरिकाले काम गर्ने सोच बनाएर अगाडि बढेका छौं ।

सुदूरपश्चिमाञ्चल एकेडेमीले यी दुबै नयाँ विषयमा पढाई शुल्क चाँही कति निर्धारण गरेको छ ?
हामीले देशभरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर पढाउने कलेजहरूमध्ये सबैभन्दा सस्तो पढाई शुल्कमा यी विषय पढाउने निर्णय गरेका छौं । हामीले होटल म्यानेजमेन्टका लागि चार वर्षको चार लाख ९० हजार र इन्फर्मेसन म्यानेजमेन्टका लागि चार वर्षे कोर्षका लागि चार लाख ४९ हजार रुपैयाँ निर्धारण गरेका छौं । काठमाडौंमा यही कोर्ष पढ्नका लागि १० लाख रुपैयाँ भन्दा बढी शुल्क लाग्छ । धनगढीमा बसाई पनि सस्तो भएकोले विद्यार्थीहरूका लागि यो खर्चका दृष्टिकोणबाट पनि निकै सस्तो हो । हाम्रो लक्ष्य सस्तो मूल्यमा गुणस्तरीय शिक्षा दिने हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार