१४ बैशाख २०८१, शुक्रबार

जलसतह बढेसँगै डल्फिन आउन शुरु



टीकापुर । जलसतह बढेसँगै कैलालीको मोहना, काँडा र पथरैया नदीको त्रिवेणीमा दुर्लभ जलचर डल्फिन आउने क्रम शुरु भएको छ ।
डल्फिन संरक्षण उपकेन्द्र नारायणपुरका अध्यक्ष भोजराज ढुंगानाका अनुसार मंगलबार मोहना र पथरैया नदीको दोभान, पथरैया र काँडा नदीको दोभान, पथरैया नदी र गैरीनगरको दोभान तथा मोहना नदीको राप्ती नाला दोभानमा गंगेटिक प्रजातिका १५ वटा डल्फिन देखापरेका छन् । तीमध्ये आठ वटा वयस्क र सात वटा बच्चा रहेका छन् ।

फाइल तस्बिर

“नदीमा जलसतह बढेसँगै डल्फिन देखापर्न थालेका छन्” उनले अब तीन महिनासम्म ती नदीमा सहजै डल्फिन हेर्न सकिने बताए । स्थानीयका अनुसार ती दोभानमा गत वर्ष असार ८ गतेदेखि असोज १५ गतेसम्म डल्फिन रहेका थिए ।
डल्फिन संरक्षण उपकेन्द्र, नारायणपुरका अध्यक्ष ढुंगानाका अनुसार मोहना, काँडा, कान्द्रा र पथरैया नदीमा कर्णाली र भारतको घाघरा नदीबाट वर्षायाममा डल्फिन आउने गरेका छन् । मोहना लगायतका कैलालीका नदीमा सुख्खायाममा जलसतह कम हुने भएकाले प्राय: डल्फिन फर्किने गरेका छन् ।
संरक्षणकर्मीहरूको अनुसार नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा मात्र पाइने गंगेटिक प्रजातिका डल्फिन सफा पानीमा मात्रै बस्न रुचाउँछन् । डल्फिन संरक्षण उपकेन्द्रका अध्यक्ष ढुंगानाले मोहना, पथरैया, काँडा तथा कान्द्रा नदीमा कर्णाली नदीबाट डल्फिन आएको हुनसक्ने बताए । “भारतको घाघरा नदीबाट डल्फिन आउन अझै केही समय लाग्छ होला” उनले जेठ १५ गते कर्णाली चिसापानी पुलभन्दा उत्तरमा चार वटा डल्फिन देखापरेको बताए ।
त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक डाक्टर मुकेशकुमार चालिसे नेतृत्वको एक टोलीले २०७२ मा डल्फिनको गणना गर्दा मोहना, काँडा, कान्द्रा र पथरैयाका विभिन्न स्थानमा ६२ देखि ८० वटा डल्फिन देखिएका थिए ।
गंगा नदीमा पाइने गंगेटिक डल्फिनलाई भारत सरकारले भारतको राष्ट्रिय जलीय जीव घोषणा गरेको छ । डल्फिनलाई नेपालको वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षण सूचीको अनुसूचीमा समावेश गरेको छ ।
कैलालीमा डल्फिन संरक्षणका लागि दुई दशकदेखि स्थानीय स्तारबाट प्रयास भइरहेको छ । संरक्षणकर्मी भोजराज श्रेष्ठ ‘गुलेली बाजे’ को अगुवाईमा दुई दशकभन्दा बढी समयदेखि डल्फिन संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन् । त्यस्तै, चराचुरुंगी संरक्षणका लागि गुलेली नियन्त्रण, नदीमा विषादी प्रयोगमा रोक तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् ।
डल्फिन संरक्षण केन्द्र थापापुरका सचिव विजयराज श्रेष्ठ मोहना नदी जल क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने बताउँछन् । गत बैशाखमा टीकापुर पुगेका प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र वन मन्त्री माया भट्टसँग त्यहाँका बासिन्दाले डल्फिन संरक्षण क्षेत्र घोषणा गरी पर्यटन भित्र्याउने अभियानमा सरकारले सहयोग गर्नुपर्ने बताएका थिए ।
डल्फिन संरक्षण केन्द्र, थापापुरका सचिव श्रेष्ठका अनुसार मोहना लगायतका नदीमा नौ फिट लामो र एक सय ८० किलो तौलसम्मका डल्फिन रहने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार