१४ बैशाख २०८१, शुक्रबार

बर्दियामा राष्ट्रिय थारू साहित्यिक मेला सुरु



बर्दिया । बर्दियाको बह्रैयाताल गाउँपालिका—५, बह्रैयामा शुक्रबारदेखि राष्ट्रिय थारू साहित्यिक मेला २०७४ सुरु भएको छ । मेलामा तराईका १८ जिल्लाका एक सय बढी थारू साहित्यकार, पत्रकार, कलाकारलगायतको सहभागिता रहेको छ ।
‘भाषा, साहित्य हमार पहिचान, राष्ट्रिय विकासमे करी योगदान’ भन्ने मूल नारा सहित तेस्रो संस्करणको साहित्यिक मेला सुरु भएको हो । मेलाको पहिलो संस्करण दाङको घोराहीमा र दोस्रो संस्करण कैलालीको पटेलामा भएको थियो ।
थारू लेखक संघ नेपाल, जंग्रार साहित्यिक बखेरी, कर्मशील नेपाल, थारू पत्रकार संघ तथा बर्दियाली थारू विकास मञ्च काठमाडौंको संयुक्त आयोजनामा भइरहेको सो मेलामा थारू साहित्य, कला, संस्कृति, भाषाबारे बृहत छलफल हुने जनाइएको छ ।
थारू लेखक संघका अध्यक्ष कृष्णराज सर्वहारी र मानव अधिकारीकर्मी एवं नाटककार सुशील चौधरीले सहजीकरण गरेको कार्यक्रममा ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य एंव उपप्रध्यापक हरि तिमिल्सेना, प्रदेश नंं ५ का प्रदेश सांसद तिलकप्रसाद शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा थारू तथा नेपाली भाषामा लिखल दर्जन बढी विभिन्न विधाका किताब विमोचन भएको थियो ।
कृष्णराज सर्वहारीद्वारा लिखल उपन्यास लाल केरनी, सोम डेमनडेउराको बट्कुही संग्रह सौस्याटल मन बिमोचन भएको छ ।
त्यस्तै, सन्तराम धरकटुवा थारूको अस्तित्व कथा संग्रह, सुशील चौधरीको शब्द संग्राम, पुनाराम करियाबरिक्काको अचक्र क्रान्ति, सत्यनारायण दहितको मुक्तक संग्रह झिख्री, दुर्जन चौधरीको खिस्सा संग्रह विमोचन भएको छ ।
रमेश चौधरीको अतितका पानाहरू गजल संग्रह, छपिलाल चौधरीको गजल संग्रह पहिचान, बमबहादुर थारुको माधोनल कामकवन्डला गीति नाटक तथा लाहुराम चौधरीको छिर्कल ओजरिया गजल संग्रह विमोचन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार