१७ बैशाख २०८१, सोमबार

साहित्य जीवन उपयोगी हुनुपर्छ : पूर्वमन्त्री पोखरेल




धनगढी/ पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणी पोख्रेलले साहित्य जीवन उपयोगी हुनु पर्नेमा जोड दिएका छन् ।

माक्सवादी अध्ययन फाउण्डेशन र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्धारा शनिबार धनगढीमा आयोजित कला, साहित्य र संस्कृतिको प्रभाव र महत्व सम्वन्धि प्रदेश स्तरीय खुला साहित्यिक बहस कार्यक्रममा बोल्दै उनले उदास, निराश भन्दा मिठास र उत्साहित बनाउने खालको साहित्य सिर्जना गर्नुपर्ने बताए ।

माओबादीका सुदूरपश्चिम इन्चार्ज समेत रहेका नेता पोखरेलले संस्कृति युग सुहाउँदो र हस्तान्तरण हुने खालको हुनुपर्नेमा पनि जोड दिए ।

उनले थपे, कतिपय कला, संस्कृति महंगा छन् जो संस्कृति युग सुहाउदो हुदैन त्यसलाई बचाउन कठिन हुन्छ ।

नेता पोखरेलले यो क्षेत्र नेपाली भाषाको उत्पति भएको क्षेत्र हो किन यहाँको संस्कृति अप्ठेरोमा छ, यहाँको स्रष्टा कहाँ, कस्तो अवस्थामा छन्, किने यो क्षेत्र पछाडि परेको हो छलफल गर्न जरुरी छ ।

उनले सुदूरपश्चिमको विकासमा पनि यहाँको छाउपडी जस्ता कुसंस्कार बाधक बनेको संकेत गरे । सुदूरपश्चिम क्षेत्र छाउपडीको विम्व जस्तो बनेको छ यस्ता कुसंस्कार हटाउन साहित्यको पनि योगदान हुनुपर्छ । उनले यहाँका विकृति, विसंगतिमाथि प्रश्न गरेर समाधानका उपाय पनि खोज्नु पर्ने बताए ।

यो क्षेत्रमा शिक्षा, स्वास्थ्य र पोषणमा पनि कमजोर छ त्यसलाई पनि विज्ञान, प्रविधिसंग जोडेर माथि उठाउन जरुरी छ उनले भने ।

उनले औधोगिकरण नहुँदासम्म जीवनस्तरमाथि नउठ्ने बताउदै त्यसका लागि पनि साहित्य लगायतका क्षेत्रले दवाव सिर्जना गर्नुपर्ने धारणा राखे ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले हरेक कुरा मानिसकै लागि हुने भएकोले साहित्य र संस्कृति पनि मानिसकै हीत हुने गरेर रचना हुनु पर्नेमा जोड दिए । उनले सुदूरपश्चिमको साहित्य क्षेत्रलाई अझमाथि उठाउन प्रदेशको सामाजिक विकास समितिले साहित्यकारसित छलफल गरेर नीति बनाउने प्रयास गर्ने बताए ।

अर्का प्रदेश सभा सदस्य शिवसिंह ओलीले सङ्घीय सरकारले झै प्रदेश सरकारले पनि सुदूरपश्चिमका साहित्यकार सम्मान गर्ने गरेर काम गर्न जरुरी भएको बताए ।

साहित्यकार गणेश नेपालीले भने संस्कृति, परम्परा मान्दा दलित समुदायले भोग्नु परेका समस्या कार्यपत्रमा छुटेको बताए । उनले भने , कतिपय चाडपर्व सुदूरपश्चिमकै भनिन्छ , हामी दलितले पनि ती पर्व हाम्रा पर्व भनेर गर्व गरेका छौ तर दलित समुदायले ती चाडपर्व मनाउन पाउदैनन् , ती चाडपर्व हामीले पनि मनाउन पाए ती संस्कृतिको संरक्षणमा मद्धत पुग्छ ।

कार्यक्रममा धेरै नेपाली समाज निराशावादी, अश्लिलतालाई महत्व दिने र संवेदनाहीन बन्दै गएको चिन्ता व्यक्त गरेर त्यसको समाधानमा पहल गर्नुपर्ने बताइएको थियो ।

सो अवसरमा माक्र्सवादी अध्ययन फाउण्डेशनका अध्यक्ष केशवनाथ योगीले कला साहित्यको प्रभाव र महत्व, लोकेन्द्रप्रसाद जोशीले सुदूरपश्चिम र हाम्रो संस्कृति बारे कार्यपत्र प्रस्तुत गरे ।

कार्यपत्रमाथि लक्षिराम आचार्य, लालबहादुर जाग्री, तीर्थराज जोशी, तीर्थराज पाण्डे, बाबुराम आचार्य लगायतले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार