१४ बैशाख २०८१, शुक्रबार

रुस्लान डिपिएलमा ईसेवा जोडियो



धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा ईसेवा पनि जोडिएको छ । ईसेवा सो कलमा टिकेटिङ पार्टनरका रूपमा जोडिएको छ । डिपिएल आगामी चैत्र १७ गतेदेखि शुरु हुँदैछ ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा डिपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबास शाही र ईसेवाका प्रमुख कार्यकारी अधिकृत असगर अलीले सम्झौतापत्रमा हस्ताक्षर गरे । टिकेटिङ पार्टनरका रूपमा ईसेवाले खेलाडी दर्ता, टिकट बिक्री वितरण कार्यको जिम्मेवारी लिने जनाइएको छ ।
धनगढी प्रिमियर लिगमा देशभरीमा ६ शहरको प्रतिनिधित्व गर्ने टिमहरूले भाग लिनेछन् । प्रतियोगिताको विजेताले २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यो नेपाली घरेलु क्रिकेट प्रतियोगिताको सर्वाधिक ठूलो पुरस्कार राशी हो । प्रतियोगिताको उपविजेताले १० लाख, तृतीयले तीन लाख र चौथो स्थान प्राप्त गर्ने टिमले दुई लाख रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।
त्यस्तै, प्रतियोगिताको म्यान अफ द सिरिजले टिभीएस अपाचे १८० सिसि मोटरसाइकल पुरस्कार पाउने छन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । आयोजकले प्रतियोगिताको पुरस्कारको लागि कम्तिमा ५० लाख रुपैयाँ खर्च हुने जनाएको छ । प्रतियोगिताको अनुमानित लागत तीन करोड रुपैयाँ रहेको छ ।
प्रतियोगिताको सम्पूर्ण खेलहरु धनगढीको एसएसपी क्रिकेट मैदानमा संचालन हुनेछ । खेलको लिग चरणका लागि ५०, प्ले–अफ चरणमा ७० तथा फाइनल खेल हेर्नका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको लागि खेलाडी चयन अक्सन मार्फत गरिनेछ भने प्रत्येक टिमले अनिवार्य रुपमा दुई जना विदेशी खेलाडी समावेश गर्नुपर्ने छ । त्यस्तै, सबै टिमले ट्यालेन्ट हन्ट मार्फत एक/एक जना सुदूरपश्चिमान्चलका खेलाडी समावेश गर्नेपर्नेछ । सहभागी ६ टिमले रणनीतिक खेलाडीको रुपमा एक=एक खेलाडी अक्सन अगाडी नै चुन्नुपर्ने छ । जसले टिम चयन लगायत विषयमा टिमलाई सहयोग गर्नेछ ।

खेलाडी दर्ता सुरु
डिपीएल टि–२० को लागि खेलाडी बिहीबारदेखि दर्ता सुरु भएको छ । राष्ट्रिय क्रिकेट टिमका उपकप्तान तथा सीवाईसी अत्तरियाका कप्तान ज्ञानेन्द्र मल्लले आफनो नाम दर्ता गर्दै खेलाडी दर्ता सुरु गरे ।
खेलाडीहरूले आफनो नाम दर्ता गर्न डिपिएल ईसेवा डट कम डट एनपीमा गएर सामान्य विवरण भरेपछि ‘बार कोड’ प्राप्त गर्नेछन् । त्यसपछि आफ्नो नाम डिपिएल अफिसियल वेवसाइटमा दर्ता गर्नुपर्नेछ । दर्ताको लागि ई–सेवा मार्फत एक हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।
पुस २० गतेदेखि माघ २५ गतेसम्म खेलाडीले दर्ता गर्न सक्ने जनाइएको छ । नाम दर्ता भएका खेलाडीहरूलाई मात्र अक्सनमा समावेश गरिनेछ । अक्सन फागुन ५ गते आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार