१४ बैशाख २०८१, शुक्रबार

झडी झरना ओझेलमा



बझाङ । बझाङको थलारा गाउँपालिकामा रहेको झडी झरना प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ ।
समुन्द्री सतहबाट झण्डै २५ सय मिटरको उचाइमा रहेको झरनाको लम्बाई तीन सय मिटरभन्दा बढी रहेको छ । खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिएको यो झरनामा थलारा गाउँपालिका बासिन्दाले नुहाउने, शिव भगवानको पूजाआराधाना गर्छन् ।
गाउँ नजिकै रहेको यो झरना पुग्न सदरमुकाम चैनपुरबाट हिँडेर झण्डै ५ घण्टा लाग्छ भने सवारी साधनमा यात्रा गरियो भने २ घण्टामा नै पुग्न सकिन्छ । झरना नजिकै रहेको भिरमा भिर मौरी समेत देख्न सकिन्छ ।
चारैतिर जंगल भएका कारण कालिज, मृग, घोरलसँगै धेरै थरीका चराचुरुङ्गी देख्न सकिन्छ । पौराणीक भनाई अनुसार यो झरनाको मुनि निकै ठूलो तलाउ समेत रहेको थियो । यो झरनाको फेदीमा हिउँदमा मात्र जान सकिन्छ ।
वर्षामा पानी धेरै भएर जान सकिँदैन । झरना भन्दा झण्डै २०० मिटर पर शिवको मन्दिरको स्थापना गरीएको छ । धार्मिक आस्था बोकेको यो झरनामा ब्रतबन्ध, विवाह गर्नुपरे साथै जनै फेर्नको लागि झरनामा जाने गर्छन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको यो झरना प्रचारको अभावमा ओझेलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार