२ माघ २०८१, बुधबार

म सधैं प्रदेशको आर्थिक समृद्धिका कटिवद्ध छु: डाक्टर आरजु



धनगढी । नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले आफू सधैं प्रदेश नम्बर ७ को आर्थिक समृद्धिका लागि कटिवद्ध रहेको बताएकी छन् ।
कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी नेतृ डाक्टर देउवाले निर्वाचनमा आफू पराजित भए पनि जनताको आर्थिक समृद्धिका लागि आफू हरक्षण प्रयत्नशील रहने बताइन् ।
सोमबार धनगढीमा पत्रकारहरूसंगको भेटघाटका क्रममा उनले चुनावमा पराजित भए पनि आफूले जनतामाझ व्यक्त गरेका प्रतिवद्धता नहार्ने बताइन् । ‘मेरो राजनीतिक यात्रा बल्ल शुरु भएको छ र मेरो राजनीति गर्ने थलो यही क्षेत्र, जिल्ला र प्रदेश हो’ उनले भनिन्– ‘म सधैं जनतामाझ रहेर उहाँहरूको आर्थिक समृद्धिका लागि क्रियाशील रहिरहने छु ।’
उनले आफ्नो पराजयका पछाडि पार्टीभित्रका केही असन्तुष्ट पक्षको असहयोग र असन्तुष्टिको व्यवस्थापन हुन नसक्नु पनि रहेको बताइन् ।
कैलाली क्षेत्र नम्बर ५ बाट विजयी एमाले नेता नारदमुनी रानालाई शुभकामना दिँदै उनले राना समुदायबाट पहिलो सांसद बनेका उनलाई मन्त्री बनाउन आफूले पनि सहयोग गर्ने बताइन् ।
उनले निर्वाचन आफू तथा पार्टीलाई मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरिन् । उनले निवाचनमा खटिएका पार्टीका सम्पूर्ण नेताकार्यकर्ता, समर्थक तथा सुभेच्छुक सबैमा कृतज्ञता व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार