६ कार्तिक २०८१, मंगलवार

डाक्टर प्याकुरेल १२ औं तहमा बढुवा



काठमाडौं । सरकारले स्वास्थ्य मन्त्रालयका दुई डाक्टरलाई १२ औं तहमा बढुवा गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले स्वास्थ्यको रिक्त रहेको दुई पदमा दुई जना डाक्टरलाई बढुवा गरेको हो ।
मन्त्रीपरिषद्ले सुदूरपश्चिमका क्षेत्रिय स्वास्थ्य निर्देशक डा सुशील प्याकुरेल र राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा तरुण पौडेललाई १२ औं तहको प्रमुख विशेषज्ञ पदमा बढुवा गरेको हो ।
मन्त्रीपरिषद्ले बढुवा समितिको सिफारिसका आधारमा तीनजनामध्ये प्याकुरेल र पौडेललाई बढुवा गरेको हो । बुधबार स्वास्थ्य मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेल, सुदूरपश्चिमका क्षेत्रिय स्वास्थ्य निर्देशक डा सुशील प्याकुरेल र राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा तरुण पौडेलको नाम सिफारिस गरेको थियो ।
लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको सदस्य अध्यक्ष रहने स्वास्थ्य मन्त्रालयको बढुवा समितिमा मुख्य सचिव, लोकसेवाका सदस्य, विषय विज्ञ र स्वास्थ्य मन्त्रालयमा सचिव सदस्यसचिव रहने प्रावधान छ ।
स्वास्थ्यमा १२ औं तहका चार वटा पद छन् । उक्त तहमा डा पुष्पा चौधरी र डा विनोदमान श्रेष्ठ मात्र कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार